१० असार , प्यूठान । प्यूठान नगरपालिका ८ खप्रेङखोलामा सञ्चालन भएको सुपादेउराली भेनियर कम्पनीमा उत्पादन भएको भेनियर पत्ता (कोर) भारत निर्यात हुने गरेको छ ।
प्लाइवोर्ड बनाउने कच्चा पदार्थ कोर भारतको युपीमा निर्यात हुने गरेको कम्पनी सञ्चालक लिलाप सिंह केसीले बताए । बजारीकरण राम्रो भएपनि आर्थिक बन्दीका कारण नेपालमा उधारो सामान बिक्री हुंदा समस्या परेको के.सी.ले बताउछन् ।"भारतमा सामान पठाउन पाए नगद कारोवार हुने र उत्पादन गरेका सामानले बजार पनि पाउने थियो ।" उनले भने-"‘भन्सारमा अलिकति समस्या परेको छ, त्यो मिलाउनसाथ सामान उतै पठाउने हो ।"करिब २ विगा जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरेको के.सी.ले बताए । ‘२०६५ सालदेखि योजना बनाएका थियौ’ उनले भने–‘लाइसेन्स त्यतिबेलै लिए पनि हरेका कुराको व्यवस्थापन गर्दागर्दै २०७४ साल देखि कम्पनी सञ्चालन भएको हो ।’ कम्पनीमा आवश्यक पर्ने सबै मेसिनरी सामान भारतबाटै ल्याएको बताउदैं सुरुवाती चरणमा ५७ लाख लगनी लागेको उनले बताए । अहिलेसम्म कम्पनीमा मेसिनरी सामान ९० लाख र भौतिक संरचना निर्माण ४० लाख गरि एक करोड ३० लाख लगानी भइसकेको छ ।
ठुलो कारोबार र धेरै ठाउँमा काम गर्नु पर्ने भएको उनले साझेदारीमा कम्पनी सञ्चालन गरेका छन् । लमही निवासी खेमराज अधिकारीसंग साझेदारीमा कम्पनी सञ्चालन गरेको केसीले बताए । अधिकारीले बाहिर काठको कारोबार सम्हाल्ने आफुले कम्पनीको कारोबार सम्हाल्ने गरि काम गरिरहेको उनी बताउछन् । उनका अनुसार ‘कम्पानीबाट मासिक १ करोडको कारोबार हुने गरेको छ ।’ वर्षातको समयमा करिब ३ महिना कम्पनी बन्द गर्नु परेको बताउछन् । नेपालमा आर्थिक बन्दी नभएमा सामान उत्पादनमा कुनै समस्या नभएको बताउदै दैनिक ३ गाडीसम्म सामान उत्पादन गर्न सकिने जानकारी समेत दिए।
५५ जनालाई कम्पनीमै रोजगारी
कम्पनी सुरु गर्दा २३ जना भारतीय मिस्त्री सहित ५० जना कामदारले रोजगारी पाएका थिए । ‘आर्थिक अवस्था नजुक भएकालाई विशेष प्राथमिकतामा राखेको छु ।’ नि.वर्तमान वडा अध्यक्ष समेत रहेका के.सी.ले भने–‘महिला दिदि बहिनीहरु धेरै इमान्दर र लगनशील हुन्छन् यही काम गर्ने धेरै संख्या महिलाको छ ।’ आफ्नो कम्पनीमा स्थानीयवासीसंगै प्यूठान नगरपालिका ९, १० र नौ बहिनी गाउँपालिका ३ खवाङका कामदार समेत रहेको उनले बताए । कम्पनीमा काम गर्ने मिस्त्रीहरु भारतको बिहार, युपी लगायतका ठाउँका भएपनि अरु सबै स्थानियवासी नै भएको उनको भनाइ छ । हाल ५५ जनाले कम्पनीमा दैनिक काम गरिरहेका छन् भने बाहिर काठको काम गर्नेको संख्या छुट्टै छ ।
सोही कम्पनीमा सुरुवात देखि काम गर्दै आएका प्यूठान नगरपालिका ८ निवासी मदन गिरीका दम्पती एकदमै खुसी छन् । सानै उमेरमा रोजगारीका लागि भारतको चेन्नइ पुगेका उनी प्रेसरको समस्याले अपांङ्ग समेत भएको अनुभव सुनाउछन् । त्यो समयमा घरको आर्थिक अवस्था कमजोर त्यसैमाथि आफ्नो श्रीमान अपांङ्ग भएर घर फर्किदा आफु विदेशीनु बाहेक केही विकल्प नदेखेको मदनकी श्रीमति विष्णु गिरीले सुनाउछिन् । ‘जब यो कम्पनी सञ्चालन भएर हामीले काम गर्न पायौ तब विस्तारै सबै कुरा ठिक हुदैं गयो ।’ विष्णुले भनिन्–‘यता काम गर्न थालेपछि श्रीमानको स्वास्थ्य अवस्था र हाम्रो घरको अवस्था सुधार हुन थाल्यो ।’ बिहान ९ बजे देखि साझ ५ बजे उक्त कम्पनीमा काम गर्ने उनीहरु बताउछन् । त्यस्तै अर्का कामदार सिता पाण्डे र जुना परिवार पनि उत्तिकै खुुसी छन् । घर नजिकै रोजगारी पाउदा व्यस्त हुनुका साथै घर खर्चका लागि श्रीमानको आस गरिराख्न नपर्ने उनीहरु बताउछन् ।
कामलाई सम्मान गर्ने र आफुलाई लगनशील बनाउने हो भने जुनसकै क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने प्यूठानकै दरिलो उदाहरण हुन लिलाप सिंह के.सी. । आफु जनप्रतिनिधि अर्थात प्यूठान नगरपालिका ८ को वडा अध्यक्ष भएपनि व्यवसाय सञ्चालनमा उत्तिकै लगनशील थिए ।