समय : ०९:२९ am | शनिबार , श्रावण १२ गते २०८१

बाढीले ५ हजारको मृत्यु भएको अनुमान, १० हजारभन्दा बढी बेपत्ता

स्वर्गद्वारी अपडेट | भाद्र २७ गते २०८०

भाद्र २७ बुधवार

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीबाट ५ हजारभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । ‘ड्यानियल’ नामको आँधीपछि आएको बाढीमा परी हजारौं व्यक्ति बेपत्ता भएका छन् । 

बाढीले समुद्री तटको डेर्ना सहर सबैभन्दा धेरै प्रभावित भएको छ । सोमबार आएको आँधीले वादी डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएको थियो, जसका कारण लाखौं क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो ।

अमेरिकी सञ्चार माध्यम सीएनएनले लिबियाको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै ५ हजारभन्दा बढी व्यक्तिको बाढीमा परी मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा इजिप्टका १४५ नागरिकसमेत रहेको सीएनएनको समाचारमा उल्लेख छ । यस्तै रेडक्रस लिबियाका प्रमुख तामेर रमादानले १० हजारभन्दा बढी व्यक्ति बेपत्ता भएको समाचार संस्था अलजजिरालाई बताएका छन् । २० हजारभन्दा बढी व्यक्ति विस्थापित भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन दशकसम्म शासन गरेका मुअम्मर गद्दाफीको सन् २०११ मा हत्या गरिएपछि सन् २०१४ देखि लिबिया दुई प्रशासनिक क्षेत्रमा विभाजित भएको थियो । बेंघाजी पूर्वी लिबियाको प्रशासनिक केन्द्र हो । यहाँका स्वघोषित सरकारका प्रधानमन्त्री ओसामा हमादसहित सुरक्षा बलका अधिकारीले घटनाबाट एक हजारभन्दा बढीको मृत्यु भएको र हजारौं व्यक्ति हराएको बताएका छन् ।

बेंघाजीस्थित सरकारका नागरिक उड्डयनमन्त्री हिचेम स्किओतले डेर्ना सहरको निरीक्षणपछि मंगलबार समाचार संस्था रोयटर्सलाई शवहरू सबैतिर देखिएको बताएका छन् । ‘समुद्री किनारा, उपत्यका र भवनभित्र शव छरिएको देखिएको छ, सहरको एक चौथाइ भाग बाढीमा डुबेको छ,’ उनले भने । उक्त सहरमा मात्र १ हजार ५ सयभन्दा बढीको मृत्यु भएको उनले बताए । डेर्नामा करिब १ लाखको बसोबास रहेको अनुमान छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page