समय : ०५:४४ pm | बुधबार , असाेज २ गते २०८१

नेपाली श्रमिकलाई बन्धक बनाउने कम्पनीमाथि मलेसियन प्रहरीले थाल्यो अनुसन्धान

स्वर्गद्वारी अपडेट | पौष २५ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान । मलेसियामा नेपाली श्रमिकलाई बन्धक बनाउने कम्पनीमाथि स्थानीय प्रहरीले अनुसन्धान थालेको छ । मलेसियन प्रहरीले नेपाली श्रमिकलाई कुटपिट तथा बन्धक बनाउनेहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।
मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूमाथि देखिएको समस्या समाधानको चरणमा रहेको जनाएको छ । नेपालीमाथि कुटपिट गर्ने तथा बन्धक बनाउने कम्पनीका अधिकारीहरूलाई मलेसियन प्रहरीले पक्राउ गरेको दूतावासले जनाएको छ ।
मलेसियाका दुई वटा कम्पनीका काम गर्ने ४१ जना नेपाली श्रमिकले समस्यामा परेको भन्दै दूतावासमा गुनासो गरेका थिए । सोही आधारमा ८ दिनदेखि खाना बस्न समेत नदिएर मानसिक यातना दिइएको थियो । घटनाबारे जानकारी आए लगत्तै दूतावासले समस्या समाधानका लागि पहल थालेको थियो ।
मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी ‘होङ जे इन्टरप्राईजेज’ (-Hong Tze Enterprise Sdn.Bhd.) मा २८ जना नेपाली काम गर्दै आएका थिए । उनीहरू नेपालबाट खोजी रिक्यूरमेन्टमार्फत ८ सेप्टेम्बरमा मलेसिया पुगेका थिए ।
काम गर्ने क्रममा नेपालीहरूले सेवा सुविधा कम दिएको, सम्झौता अनुसार काम नदिएको भन्दै विरोध जनाएका थिए । त्यसपछि कम्पनीका प्रतिनिधिहरूले उनीहरूमाथि कुटपिट गरेका थिए । कुटपिट गर्नुका साथै कम्पनीबाट निकालेर अन्यत्र बन्धक बनाएर राखेको भन्दै उनीहरूले मलेसिया रोजगारमा पठाउने खोजी रिक्यूरमेन्टलाई जानकारी गराएका थिए । त्ययसपछि मेनपावर कम्पनीका प्रतिनिधि मोहम्मद जुनैद र २ जना नेपाली श्रमिक ३ जनवरी २०२३ मा दूतावासमा पुगेका थिए । आफूमाथि अन्याय भएको र उल्टै कुटपिट गर्नुका साथै बन्धक बनाएको विषयमा दूतावासलाई उनीहरुले जानकारी गराएका थिए । सोही आधारमा उनीहरूले सोही दिन मलेसियन प्रहरीमा उजुरी गरेका थिए । उनीहरूको उजुरीको आधारमा नेपालीमाथि कुटपिट गर्नेहरूलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि अनुसन्धान थालेको दूतावासले जनाएको छ । त्यसरी दूतावासको सम्पर्कमा पुगेका उनीहरू र रोजगारदाता कम्पनीका प्रतिनिधिबीच छलफल गरिएको थियो । छलफलपछि ९ जना नेपाली स्वदेश फर्किसकेका छन् । त्यस्तै ७ जना नेपालीलाई ११ जनवरीमा नेपाल फर्किने व्यवस्था मिलाइएको छ । बाँकी १२ जनाले के गर्ने भन्ने निर्णय लिइनसकेको दूतावासले जनाएको छ । उनीहरूकै निर्णयको आधारमा व्यवस्था मिलाइने दूतावासको भनाइ छ । छलफलको क्रममा नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई तुरुन्त घर फर्काउने र काममा फर्कन चाहनेलाई सुरक्षित कार्य वातावरणको प्रत्याभूति गराउने सहमति भएको थियो । त्यस्तै मलेसियाको प्लान्टेशन क्षेत्रमा १३ जना नेपाली श्रमिक काम गर्दै आएका थिए । PRS FOREST  MANAGEMENT मा काम गर्दै आएका उनीहरूले करार सम्झौता अनुसार काम तथा तलब र अन्य सेवा सुविधा नदिएको भन्दै दूतावासमा उजुरी गरेका थिए । सोही आधारमा दूतावासले २५ डिसेम्बर २०२२ र २८ डिसेम्बर २०२२ मा रोजगारदातालाई पत्राचार गरेको थियो । तत्पश्चात् उनीहरूलाई मलेसिया पठाउने नेपाली कम्पनी त्रिवेणी एच.आर सोलुसनका प्रतिनिधिको रोहबरमा ३० डिसेम्बर २०२२ मा छलफल गरिएको थियो । छलफलपछि उनीहरूले आफूहरू नेपाल फर्किने बताएका थिए । सोही बमोजिम उनीहरूलाई नेपाल फर्कन आवश्यक पर्ने मलेसियाली अध्यागमन विभागको चेक आउट मेमो र हवाई टिकटको व्यवस्था गर्ने बताएको थियो । उनीहरू नेपाल नफर्किँदासम्म बस्ने र खाने व्यवस्था कम्पनीले नै गरेको छ । उनीहरूमध्ये ६ जना १० जनवरी र बाँकी ७ जना १३ जनवरीमा नेपाल फर्किने दूतावासले जनाएको छ । मलेसियामा समस्यामा परेका नेपालीहरूलाई तत्काल स्वदेश फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मलेसियास्थित नेपाली राजदूतावास, वैदेशिक रोजगार विभागले उद्धारका लागि अग्रसरता देखाएको थियो । सोही आधारमा उनीहरूको उद्धार थालिएको हो । खोजी रेक्युरमेन्ट कम्पनीमार्फत मलेसिया पुगेका १९ जनाले आफूहरूलाई ८ दिनदेखि बन्धक बनाएर राखेको भन्दै उद्धार गरिदिन आग्रह गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्