जिल्ला प्रशासन कार्यालय प्यूठान द्वारा कानुन र मापदण्ड विपरीत क्रसर उद्योग बन्द गर्न आग्रह
स्मृति घर्ती मगर प्यूठान, जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्लामा प्रचलित कानुन र मापदण्ड विपरित दर्ता तथा नवीकरण नगरिएका अवैध क्रसर उद्योग बन्द गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानले आज एक सूचना जारी गर्दै अवैध क्रसर उद्योग बन्द गर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको हस्ताक्षर गरिएको सूचना विज्ञप्तीमा भनिएको छ "अनुमती नलिई संचालनमा रहेका ढुङ्गा,गिट्टी रोडा तथा वालुवा उत्खनन,प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु र विभिन्न विकास आयोजना तथा निर्माणको प्रयोजनका लागि संचालित भएका तथा हाल उक्त प्रयोजन र आयोजना समाप्ती पछि पनि संचालन मै रहेका क्रसर उद्योगहरुलाई आजको मिति देखि बन्द गर्न सम्बन्धित उद्योग र निर्माण ब्यवसायीहरुलाई जानकारी गराईएको छ ।"
साथै प्रचलित कानुन र मापदण्ड बमोजिम संचालनमा रहेका क्रसर उद्योगहरुलाई सम्बन्धित कागजात कार्यालयमा यथाशीघ्र पेश गर्न समेत आग्रह गरेको छ ।