स्वर्गद्वारी अपडेट प्युठान । सिरियल किलर’ का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज अबका १० वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी शुक्रबार निष्कासित भएका छन् । नेपालमा १९ वर्ष जेल जीवन बिताएका शोभराजले नेपाल राज्यविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।
उनले नेपालमा आफूमाथि लगाइएको दुई जनाको हत्या आरोप पनि अस्वीकार गरेका छन् । ‘मैले केही नगरे पनि कारागार लगियो,’ उनले भने, ‘म सबै मुद्दामा निर्दोष छु । त्यसैले मैले नराम्रो र राम्रो ठान्नुपर्ने कुरै छैन । म निर्दोष थिएँ । मलाई फर्जी कागजात (प्रमाण) का आधारमा फसाइएको हो ।’
उनले न्यायाधीशले कुनै साक्षी बिना र आरोपितलाई सफाईको मौका नै नदिई फैसला लेखेको आरोप लगाएका छन् । ‘नेपालमा जिल्ला देखि सर्वोच्च अदालतका सबै न्यायाधीशहरू चार्ल्स शोभराजविरुद्ध पूर्वाग्रही थिए’ उनको भनाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।
सर्वोच्च अदालतको आदेशपछि शुक्रबार केन्द्रीय कारागारबाट छुटेका शोभराजलाई अध्यागमन विभागले २०८९ सालसम्म नेपाल प्रवेशमा रोक लगाउँदै कतारको दोहा हुँदै फ्रान्सका लागि ‘डिपोर्ट’ गरेको हो ।
२०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र क्यानेडियन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सुनाएकामा सर्वोच्चले २०६७ साउन १४ मा जिल्लाको फैसला सदर गरेको थियो । त्यसअघि हत्या गरेर फरार रहेका शोभराज २८ वर्षपछि २०६० असोज २ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता केन्द्रीय कारागारमा कैदी जीवन बिताइरहेका उनलाई बुधबार मात्रै सर्वोच्चले बाँकी सजाय छुट दिएर १५ दिनभित्र फ्रान्स फिर्ता गर्न आदेश गरेको थियो । सर्वोच्चले कैद मुक्त गर्न आदेश दिएपछि शोभराजको आपराधिक संलग्नता र उनी फ्रान्स फर्किन लागेको विषयमा विश्वभरका मिडियाले समाचार प्रकाशन/प्रसारण गरेका छन् ।
कानुनी प्रक्रिया पूरा गर्नुअघि शोभराजले प्रहरी पहरामा केही घण्टा विभागमा बिताएका थिए । अध्यागमन अधिकृतस समक्ष उनले निर्दोष हुँदाहुँदै नेपालले जेल पठाएको भन्दै क्षतिपूर्तिको मागसहित अन्तर्राष्ट्रिय अदालतमा जाने उल्लेख गरेका थिए । फ्रान्समा आफ्नो परिचय लेखक र डकुमेन्ट्री प्रोड्युसरका रूपमा रहेको र बाँकी जीवन त्यहीँ बिताउने उनले बताएका थिए ।
‘शोभराज विमानस्थल जानुअघिको समय न खुसी, न पश्चाताप, सामान्य अवस्थाको मानिसको जस्तो थियो,’ विभागका एक अधिकृतले भने, ‘करिब २० वर्ष जेल बसेर छुटेका व्यक्तिको हाउभाउ र स्वभावमा केही त फरक देखिनुपर्ने हो, हामीलाई त्यस्तो लागेन । फ्रान्स पुगेर रमाइलोसँग क्रिसमस मनाउँछु भन्थे ।’
शोभराज केही समय अस्पताल बसेर फर्किन चाहन्थे तर सुरक्षाका कारण विभाग जतिसक्दो छिटो डिपोर्ट गर्नेतर्फ केन्द्रित भएको थियो । २०७४ जेठमा गंगालाल अस्पतालमा उनको मुटुको शल्यक्रिया भएको थियो ।
नेपालको कारागारमै रहँदा निहिता विश्वाससँग कानुनी विवाह गरेका शोभराजले डिपोर्ट हुनुअघि निहितासँग भेट्न पाएनन् । कारागारबाट छुट्नुअघि र अध्यागमनबाट विमानस्थल प्रस्थान अघि निहिता र उनकी आमा शकुन्तला थापाले भेट्ने प्रयास गरेका थिए । स्रोतका अनुसार शोभराजलाई सुरक्षा पहरा दिएका प्रहरीले ‘भेट्ने भए विमानस्थल आउनु, त्यहाँ भेट्ने अवस्था हुन सक्छ’ भनेका थिए । निहिता ज्याकेट बोकर आएकी थिइन् । उनले ल्याएको कालो र रातो रङको ज्याकेट अध्यागमनका कर्मचारीमार्फत शोभराजसम्म पुग्यो । त्यही ज्याकेट लगाएर शोभराज विमानस्थल पुगेका थिए ।
अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत वासुदेव घिमिरेका अनुसार शोभराज प्रस्थान कक्षतर्फ लागिसकेका कारण विमानस्थलमा निहितासँग भेट हुन पाएन । कारागार र अध्यागमनमा शोभराजको सहयोगीका रूपमा काम गरेका गोपाल शिवाकोटीले पनि निहितासँग शोभराजको भेट हुन नपाएको बताए । ‘म पनि कागजी प्रक्रिया मिलाउन कारागार र अध्यागमनमा व्यस्त रहेँ । मैले नै डिपोर्टअघिका काममा समन्वय गरेको हुँ,’ उनले भने, ‘त्यस अवधिमा अध्यागमन र कारागारका मान्छे बाहेक शोभराजको अरूसँग कुरा हुन पाएन ।’
शुक्रबार दिउँसो अध्यागमन परिसर बाहिर भेटिएकी निहिताले आफूले न्यायका लागि शोभराजका पक्षमा निरन्तर कानुनी लडाइँ लडेको बताइन् । आमा शकुन्तला पनि हँसिलो मुद्रामा भेटिएकी थिइन् । न्यायको लडाइँकै क्रममा शोभराजसँग विवाह भएको निहिताले बताएकी थिइन् । शोभराजसँगै फ्रान्स जाने योजना छैन भन्ने प्रश्नमा उनले ‘आफू कानुन व्यवसायी भएको र नेपालका ‘क्लाइन्ट’ लाई बीचमै छाडेर तत्काल फ्रान्स नजाने’ बताएकी थिइन् । फ्रान्स पुगेपछि शोभराज छोरी र आमाका साथ बस्ने उनले बताइन् । निहिताका अनुसार शोभराजकी सय वर्ष नाघेकी आमा छिन् ।
नेपालमा ४७ वर्षअघि भएको एउटा जघन्य अपराधमा जेल सजाय भुक्तान गरेर निष्कासनमा परेका उनी नेपाल अध्यागमनको कालो सूचीमा पनि छन् । कालोसूचीमा रहेसम्म उनी नेपाल आउन पाउने छैनन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अध्यागमन कार्यविधि २०६५ अनुसार एक दशक नेपाल आउन नपाउने गरी शोभराज निष्कासनमा परेको बताए । निष्कासनअघि नेपालस्थित फ्रान्सेली दूतावासले शोभराज आफ्नो देशको नागरिक रहेको भन्दै जिम्मा लिएपछि विभागले १५ दिनको ट्राभल डकुमेन्ट बनाइदिएको थियो । त्यसबापत शोभराजका तर्फबाट विभागमा ५० हजार रुपैयाँ जरिवाना र भिसा शुल्कबापत ३० डलर बराबरको राजस्व दाखिला गरेपछि उनलाई विमानस्थल लगिएको थियो ।