कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा उपयुक्त हुने सूर्य थापाको भनाई
स्वर्गद्वारी अपडेट प्युठान, नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन् । मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उनको तर्क थियो । बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भनेर भन्न सकिने अवस्था अझै नरहेको बताए । सांसद थापाले मुलुकको दीर्घकालीन हितमा केन्द्रित भएर राजनीतिक दलहरू अघि बढ्नुपर्ने धारणा समेत राखे । उनले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।