समय : ०६:०९ am | शनिबार , श्रावण १२ गते २०८१

लघुवित्तपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहलकदमी

स्वर्गद्वारी अपडेट | फागुन १० गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त र सहकारीपीडितलाई समस्या समाधान गर्ने आश्वासन दिएका छन् । सिंहदरबारस्थित कार्यालयमै बोलाएर सरकारले समस्या समाधानका लागि तत्काल कदम चाल्ने आश्वासन दिएका हुन् ।

मुलुकभरका करिब १० हजार लघुवित्तपीडित दुई दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । उनीहरू बुधबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंक कार्यालय घेर्न जाने योजनामा थिए । त्यसअघि नै प्रधानमन्त्री दाहालले उनीहरूलाई कार्यालयमै बोलाएर समस्या समाधान गरिने आश्वासन दिएका थिए । उनले भनेका थिए, ‘लघुवित्त र सहकारीपीडितको समस्याप्रति सरकार गम्भीर छ । समस्या समाधानका निम्ति सरकारले तत्काल केही न केही कदम अघि बढाउँछ । तपाईंहरू ढुक्क हुनुहोस्, समस्या समाधान भएरै छाड्छ ।’
लघुवित्त र सहकारीले उठीवास लगाएको भन्दै पीडितहरूले समस्या समाधान गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनीराम ज्ञवालीले प्रधानमन्त्री दाहालसँग भेट भएको र समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘हामीले आज बिहान १० बजे प्रधानमन्त्रीलाई भेट्यौँ । आफ्ना समस्या राख्यौँ । सँगै हामीले उठाएका माग पूरा गर्न पनि प्रधानमन्त्रीलाई भन्यौँ । उहाँले समस्या समाधान गर्न हामीलाई आश्वासन दिनुभएको छ । तर, कसरी समस्या समाधान हुन्छ, त्यस विषयमा भने अन्योल नै छ ।’

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिका अनुसार मुलुकभर अहिले २८ लाखभन्दा धेरै लघुवित्तपीडित छन् । जसमध्ये ५० हजार पीडितहरू संघर्षरत छन् । पाँच लाख पीडितले किस्ताबापतको रकम तिर्न अस्वीकार गरेका छन् । लघुवित्तको मानसिक यातनापछि एक हजार पाँच सय पीडितले आत्महत्या गरेको समितिको तथ्यांक छ ।पीडितहरूले १ फागुनदेखि चितवनबाट बृहत् मार्च सुरु गरेका थिए । करिब पाँच दिनको पैदल यात्रापछि उनीहरू काठमाडौं आइपुगेका थिए । उनीहरूले दुई दिन हिँडेर चक्रपथमा बृहत् मार्च गरिसकेका छन् । अब राष्ट्र बैंक केन्द्रित आन्दोलन गर्ने उनीहरूको तयारी छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page