समय : ०८:२४ am | शनिबार , श्रावण १२ गते २०८१

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर

स्वर्गद्वारी अपडेट | पौष १९ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएको जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा यस सन्दर्भमा सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डका भारतीय समकक्षी नरेन्द्र मोदीले त्यही अवसरमा दीर्घकालीनरूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशका बीचमा सहमति भएको बताउनुभएको थियो । भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै बिजुली आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको आजदेखि हुन लागेको नेपाल भ्रमणका अवसरमा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा बिजुली खरिद–बिक्री सम्झौता गरी बिजुली लिनेछन् । सरकारले आउँदो १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page