समय : ०८:१५ am | शनिबार , श्रावण १२ गते २०८१

खरको छानो फाल्दै जस्ता : खुसी छन् पाङवाङवासी

लव कुमार अधिकारी | मंसिर २६ गते २०८०

प्युठान।सरुमारानी-६पाङवाङ बस्तीका घरमा बिहानै सूर्यको पहिलो किरण पर्ने बित्तिकै रातो रङले छाएको जस्तापाता टलक्क टल्किन्छ।वरिपरी हरियाली बिचमा समथर मनै लोभ्याउने बस्तीमा जस्ताको चमकले वातावरण नै उज्यालो हुन्छ।

पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कृष्ण बहादुर महराले  कैयौँ दिनरात कष्टकरसँग बिताए। २ -३ वर्षमा खरको छानो फेर्नु पर्ने हुँदा उता खर्च पनि बढ्ने थियो,रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाएनन। खरले छाएको छानो पानी परेपछि चुहिहाल्ने, हावाहुरी आउँदा उडाउने गर्दा महराले निकै दुःख सँग दिनहरु बिताएको बताउछन।अहिले २ वर्ष जती भयो यी पानी चुहिने र हावाहुरी बाट बच्ने हुँदा सरुमारानी गाउँपालिका-६ पाङवाङ बस्ने महरालाई गाउँपालिकाले ३५ पाता जस्तापाता उपलब्ध गराएपछि सुखसँग दिन बिताउन पाएको बताए ।“खरको छानो फालेर जस्ता पाता लगाउँदा झन्डै १ लाख जति खर्च हुन्थ्यो अहिले गाउँपालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएपछि हामी निक्कै खुशी भएका छौ –उनले भने।"

त्यस्तै पाङवाङ बस्तीमै बस्ने पार्वती पुनले गाउँपालिकाको सहयोगमा जस्तापाता लागाएको एक वर्ष जति भएको बताउछिन् ।"जस्तापाता किन्ने पैसा नहुँदा दुःखसँग जीवन गुजारा चलाउँदै आएकी थिए।"मुस्कुराउँदै उनी भन्छिन-"पानी आउँदा चुहिने र साना केटाकेटीहरुले आगो लागाउने होकी भनेर सधैं चिन्ता हुन्थ्यो तर अहिले स्थानीय सरकारले विपन्नको दुःखमा मलम लगाउने काम गरेको छ।"

उनलाई गाउँपालिकाले एक वर्षअघि छाना छाउन २५ पाता जस्तापाता उपलब्ध गराएको हो।जस्तापाता लगाई सकेपछी  घरमा बस्न निकै सहज भएको उनको भनाई छ।

"खरको छाना विस्थापन कार्यक्रम" ले घर छाउन जस्तापाता किन्न नसकेर बसेका गरिब, विपन्न परिवारलाई ओत लाग्ने बलियो आधार स्थानीय सरकारले बनाईदिएको छ। 

कृष्ण महरा र पार्वती पुनले जस्ता पाङवाङमा धेरैले गाउँपालिकाको सहयोगमा चुहिने छानो र हावाहुरी चलेका बखत घरको छानो उडाउने समस्याबाट मुक्त भएर बलियो ओत लागेर बस्ने वातावरण पाएका छन्।गाउँपालिकाले एकै प्रकृतिको रातो रङमा जस्तापाता वितरण गर्ने गरेको छ।

पाङवाङ बस्तीमा १ सय ३० घरधुरी छन् जसमध्ये ५० घरधुरीमा खरको छाना हटाई जस्तापाताले छाएको र अब १२ घरधुरी बाकी रहेको वडा अध्यक्ष तिल बहादुर बुढाले बताए।ति बाकी घरधुरीमा चालू आर्थिक वर्षमै खरको छाना हटाई जस्ता लगाए संगै पाङवाङ बस्ती नै खरको छाना मुक्त हुने वडा अध्यक्ष बूढाको भनाई छ।     

सरुमारानी गाउँपालिका भित्रका खरको छानो रहेका घरधुरी विस्थापित गर्न आर्थिक वर्ष २०७४/७५ देखि ‘खरको छानो विस्थापन कार्यक्रम’ कार्यक्रम सुरु गरेको हो।गाउँपालिका भित्रका खरको छानो भएका तेह्र सय ४७ घरधुरी सर्वेक्षण गरी काम अगाडि बढाइयो।हालसम्म एक हजार ६० घरधुरीमा खरको छानो हटाएर जस्तापाता लगाउने काम सम्पन्न भएको छ भने दुई सय ८७   घरधुरीमा जस्तापाता लगाउने काम बाँकी रहेको छ।जसमध्ये सुरक्षित नागरिक आवास कार्यक्रमबाट हाल सम्म एक सय १९ घरधुरी संख्या सम्पन्न गरेको छ।बाँकी घरहरुमा पनि जस्तापाता लगाउने कार्य सकाएर सरुमारानी लाई खररहितको घर घोषणा गर्ने गाउँपालिकाले तयारी गरेको  सरुमारानी गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत देवीराम पाठकले जानकारी दिए।

चुहिने खरको छानोमुनि बसेर कष्टकर जीवन व्यतित गर्दै आएका घरधनीहरु  अहिले ढुक्कले बसोवास गरिरहेका छन्।घरको छानो व्यवस्थित र बलियो बनेपछि हावाहुरी, पानी परेका समयमा हुने डर हटेको लाभान्वितहरु बताउँछन् । सुन्दर र नमूना गाउँको रुपमा चिनाउन गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित गाउँ कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिईरहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page