श्रवण बस्नेत/लमही। आयुर्वेदिक सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको छ।लमही नगरपालिका अन्तर्गत सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रमार्फत् चालु आर्थिक वर्षको साढे १० महिनामा पाँच हजार बढी नागरिकले सेवा लिएका छन् ।
पछिल्लो समय मानिसहरू आयुर्वेदिक औषधी र प्राकृतिक उपचारतर्फ आकर्षित हुँदै गएका छन्। केन्द्रमा स्वास्थ्य परामर्श, नियमित स्वास्थ्य परीक्षण, अम्लपित्त, वाथ, युरिक एसिड, पायल्स, फिसर, फिस्टुला, मधुमेह, पिलिया (जन्डिस), रक्तचाप, दम, छालाका एलर्जी(चिलाउने), नसासम्बन्धी तथा आन्द्रासम्बन्धी विविध रोगहरूको उपचार सेवा दिइँदै आएको छ ।
सेवा केन्द्रकी प्रमुख सरिता खनालका अनुसार यस वर्ष सेवाग्राहीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । उनले भनिन्, ‘पछिल्लो वर्षको तुलनामा यस वर्ष स्वास्थ्य सेवा लिन आउनेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । सुलभ, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउँदा नागरिकको विश्वास बढेको देखिन्छ ।’ गत वर्ष तीन हजार जनाले मात्र सेवा लिएका थिए । खनालका अनुसार महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ ।
नियमित जाँच, निःशुल्क औषधी वितरण तथा रोग प्रतिरोधात्मक कार्यक्रमले सेवाग्राहीको सङ्ख्या बढ्नमा मद्दत पुगेको प्रमुख खनाल बताउँछिन् । लमही नगरपालिकाले समुदाय स्तरमै प्रभावकारी आयुर्वेदिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको हो । अहिले पूर्वाधार विस्तार र सेवास्तरलाई बढाउने योजना अघि सारेको छ । नगर प्रमुख जोगराज चौधरीले सेवा केन्द्रद्वारा उत्पादित आयुर्वेदिक औषधीको प्रशंसा गर्दै सर्वसाधारणलाई प्रयोग गर्न आग्रह गरेका छन् ।
स्थानीय जडिबुटीको प्रयोग गरेर उत्पादन गरेको औषधीले फाइदा गर्ने भन्दै नगर प्रमुख चौधरीले भने, ‘नागरिक आरोग्य केन्द्रको औषधी मैले निरन्तर प्रयोग गर्दै आएको छु । यसले मलाई धेरै फाइदा गरेको महसुस भएको छ । तपाईँहरू पनि आयुर्वेदिक औषधी प्रयोग गर्नुहोस् र निरोगी बन्नुहोस् ।’
उनले आफ्नो व्यक्तिगत अनुभवले आयुर्वेदिक औषधीप्रति विश्वास थप बलियो बनाएको भन्दै प्राकृतिक उपचार प्रणालीले दीर्घकालीन रूपमा स्वास्थ्यमा सकारात्मक असर पार्ने भएकाले नगरबासीलाई प्रयोग गर्न आग्रह गरेका थिए । नागरिक आरोग्य केन्द्रले प्राकृतिक वनस्पतिबाट तयार पारिएका औषधीहरू वितरण गर्दै आएको छ । स्थानीयवासीले सेवा केन्द्रबाट सहज र समयमै उपचार सेवा पाएकोमा सन्तुष्टि व्यक्त गरेका छन्।
लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित लमही नगरपालिका–५ का रामलखन चौधरीले प्राकृतिक उपचारबाट स्वास्थ्यमा सुधार भएको बताउँछन्। उनका अनुसार वर्षौँसम्म विभिन्न रोगसँग सङ्घर्ष गर्दै आएका थिए । महङ्गा औषधी र अस्पतालको उपचार प्रक्रियाबाट थाकेर अन्ततः वैकल्पिक उपचारको बाटो रोजेको र त्यसले राम्रो गरेको बताए ।
‘म धेरै वर्षदेखि पेट र जोर्नीको समस्याबाट पीडित थिएँ’, उनले भने, ‘जब मैले लमहीमै रहेको नागरिक आरोग्य सेवा केन्द्रको औषधी प्रयोग गर्न थालेँ अहिले मेरो स्वास्थ्यमा सुधार भएको छ।’