प्युठान –माण्डवी गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ।पूर्णखोप सुनिश्चित घोषणाका सबै सूचक पूरा भएपछि शनिबार एक कार्यक्रमको आयोजना गरेर माण्डवी गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको तिराम स्वास्थ्य चौकीका प्रमुख बासुदेव घर्तीले बताए।
वडाभित्र जन्मेदेखि १५ महिनामुनिका ६६ जना बालबालिकालाई नियमित खोप दिएको र १६ देखी ५९ महिना सम्मका २२२ जनालाई पूर्ण खोप लगाई सकेको तिराम स्वास्थ्य चौकीका प्रमुख घर्तीले बताए।राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको हो।
गएको चैत १२ देखी २३ गतेसम्म वडाका प्रत्येक घरधुरीमा गएर बालबालिकाहरुले खोप पाए/नपाएको एकीन गरिएको थियो।
आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाहरुलाई विभिन्न १३ प्रकारका रोगबाट बचाउनका लागि खोप दिने गरिएको छ।
वडा अध्यक्ष बाम बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा माण्डवी गाउँपालिका वडा १ वडा सदस्य, कार्यपालिका सदस्य,स्वास्थ्य चौकी व्यवस्थापन समितिका प्रतिनिधि,सुरक्षाकर्मी, माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत पब्लिक हेल्थ नर्स जानकी साउद, महिला सामुदायिक स्वास्थ्य स्वंयमसेविका, स्वास्थ्य आमा समुह, स्वास्थ्यकर्मी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो।