प्यूठान । प्यूठान नगरपालिकामा विश्व क्षय रोग दिवसको मनाइएको छ । प्यूठान नगरपालिका वडा नं. १ दाखाक्वाडी स्वास्थ्य चौकीमा ‘हो । हामी क्षयरोग अन्त्य गर्नसक्छौ । लागानीको प्रतिवद्धता र सेवा सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
चिकित्सकका अनुसार बाहिर क्षयरोग नदेखिएको अवस्थामा पनि निष्क्रिय क्षयरोग हुने र नेपालमा निष्क्रिय क्षयरोग भएका एक सय जना मध्ये १५ जना लाई भविष्यमा सक्रिय क्षयरोग हुनसक्छ ।
प्यूठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेका अनुसार निष्क्रिय क्षयरोगको उपचार गरेमा भविष्यमा सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना न्यून रहन्छ । विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाका बारेमा पत्ता लाग्ने गर्दछ । शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन् ।
यस्ता व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिन सक्छ । हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको सङ्क्रमित सकिने उनले जानकारी दिए । सिमित ठाउँमा नभई बस्तीमै पुगेर कार्यक्रम गर्दा अझै प्रभावकारी भएको उनको भनाइ छ ।

२४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । केन्द्रले गत आवमा नयाँ र पुराना नेपालमा करीब ६० हजार क्षयरोगी रहेका जनाएको छ । कूल मृत्यु हुने रोगमध्ये क्षयरोग सातौँ नम्बरमा रहेको छ । दैनिक १८ को मृत्यु यही रोगबाट भइरहेको तथ्यांकमा उल्लेख छ ।
प्यूठान नगरपालिकाको आयोजनामा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम गरी क्षयरोग दिवस मनाइएको थियो । दाखाक्वाडी स्वास्थ्य चौकी इन्र्चाज मोती कुमारी केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सि.अहेव भरत भण्डारीले गरेका थिए।