समय : ०५:५५ am | शनिबार , श्रावण १२ गते २०८१

सरुमारानी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०८१

प्युठान। प्युठानको सरुमारानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। ''स्थानीय श्रोतको उपयोग, स्वामित्व र  सहभागिता  पूर्ण खोप पालिका,हाम्रो प्रतिबद्धता '' भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो। 

जिल्ला समन्वय समिति प्युठानका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्युठानका  संयोजक धरम बहादुर जि.सी.ले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख जी.सी.ले सरुमारानी गाउँपालिकालाई उपाध्यक्ष बसन्ता खड्कालाई हस्तान्तरण गरेका थिए। सो  अवसरमा सरुमारानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले  खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए। 

सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको सरुमारानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए।उनले भने - "राष्ट्रिय खोप तालिका अनुसार पालिकाका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो।" प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो । 

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले बताए । 

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि गाउँपालिककाले प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख रायमाझीले बताए।गाउँपालिका भरि जन्मेदेखि १५ महिना भित्र पाउनु पर्ने सबै खोप १६–५९ महिनासम्मको बालबालिका सर्वेक्षण गरि १ हजार ४ सय १० जना बालबालिका रहेको उनले जानकारी दिए।उक्त घोषणा कार्यक्रममा सबै स्वास्थ्य संस्था प्रमुख र प्रत्येक वडाबाट एक/एक जना गरी ६ जना लाई महिला सामुदायिक स्वाथ्य स्वयंसेविकालाई उत्कृष्ट छनोट गरि सम्मान गरिएको थियो।

साथै जन्म देखि २४ महिनाको उमेर सम्म तोकिएको समयमा नियमित वृद्धि (तौल) अनुगमन गराउने,१५ महिनाको उमेर भित्र सबै खोप समयमै लगाउने , नियमित वृद्धि (तौल) अनुगमन गराउने,१५ महिनाको उमेर भित्र सबै खोप समयमै लगाउने र स्वस्थ बच्चाको अभिभावकलाई प्रत्येक वडाबाट ३/३ जना गरी जम्मा १८ जना आमाहरुलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख रायमाझीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।यस अघि प्युठानको गौमुखी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको थियो ।      

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page