नेपाल र दक्षिण भारतका चर्चित कलाकारहरू अभिनीत नेपाली फिल्म 'ह्रस्व दीर्घ' आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ।हलमा 'पूर्णबहादुरको सारंगी' को दबदबाबीच नीता ढुंगाना निर्मित फिल्म रिलिज भएको हो।
दुई हप्ता आक्रामक व्यापार गरेको‘पूर्ण बहादुरको सारङ्गी’ले फिल्मको रफ्तार अझै केही हप्ता कम हुने छाँटकाँट देखिँदैन । हलमा दर्शक ओइरिन छाडेका छैनन् । यो फिल्मको डरले साउथको ‘कंगुवा’ समेत नेपाल भित्रिएन । नेपाली फिल्म ‘केटी हराएको सूचना’को रिलिज नै पोस्टपोन्ड भयो ।
तर, शुक्रबारबाट ‘सारङ्गी’लाई चुनौती दिन फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा उत्रिएको छ । निर्माण अगावैदेखि ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्मले देशभर लगभग डेढ सय शो पाएको छ । फिल्मको हाइप, बजेट र स्टारकास्टको आधारमा यो शो संख्या कमजोर नै हो । ‘सारङ्गी’मा दर्शकको उछाल कायम रहेकाले हलहरुले फिल्मलाई पर्याप्त शो उपलब्ध गराउन नसकेका हुन् ।
यसमा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल लगायतको अभिनय छ । फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । चन्द्र पन्त निर्देशित 'ह्रस्व दीर्घ' नीता फिल्मस्को ब्यानरमा बनेको हो। यसको निर्मात्री अभिनेत्री नीता ढुंगाना हुन्।फिल्मको कथा र पटकथा ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन्।