समय : १२:२८ pm | शनिबार , श्रावण १२ गते २०८१

मौलिक मेला पर्वबाट लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छ: मन्त्री शर्मा

स्वर्गद्वारी अपडेट | कार्तिक ३० गते २०८०

प्युठान। सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभएको छ ।

प्युठान जिल्लाको प्युठान नगरपालिका ७ पुण्यखोलामा भएको ऐतिहासिक तथा सास्कृतिक डल्ले सराय मेला २०८० उद्घाटन गर्दै उहाँले समाजमा देखिने दानवीकरण र अहंकारलाई अन्त्य गरी सत्यको विजयको पक्षमा मनाइने मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो ।

मौलिक मेला पर्वहरु नेपालमा एकता र वीरताको बिम्बको रुपमा मनाइने भएकाले पनि सामाजिक सद्भाव कायम गर्दै जनतालाई एकताबद्व गर्ने र सामाजिक काममा स्वस्फूर्तरुपमा जनपरिचालन हुने यो महत्त्वपूर्ण प्रणाली भएको मन्त्री शर्माले बताउनुभयो । सबै चाडपर्व र मेलाहरु तत्कालीन समाजले सत्यको पक्षमा गरेका प्रगतिशील अभ्यासमा आधारित रहने गरेका मौलिक मेला पर्वहरुलाई समाज विकासको मानकको रुपमा हेर्न सकिने पनि उहाँले बताउनुभयो ।

प्युठानको सराय नाच नेपालकै प्रशिद्व रहेको उल्लेख गर्दै उहाँले तरवारसहित नाचिने युद्धकलामा आधारित यो नाचमा महिला पुरुषको समान सहभागिता हुनु समावेशीकरणको उच्च नमूना भएको बताउनुभयो । नेपालमा लैङ्गिक विभेद तोडिनुमा जनयुद्धको महत्त्वपूर्ण योगदान रहेको औंल्याउदै मन्त्री शर्माले राजनीतिक परिवर्तनको अभ्यास घरघर र समुदायस्तरदेखि गर्नुपर्ने बताउनुभयो । तेह्रौं शताब्दीमा जनतामाथि क्रूर शासन गरिरहेका भित्रीकोट राज्यका जाड राजालाई जनताको सहयोगमा चन्द राजाले लखेटेर मारेको किवदन्तीका आधारमा जनताको जीतको बिम्बको रुपमा तरवारसहित लडाइँको अभिनय गरेर नाचिने सराय नाचको प्रतिष्पर्धासहित यो मेला सन्चालन गर्ने गरिएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page