समय : १२:१७ pm | शनिबार , श्रावण १२ गते २०८१

पर्यटकीय गन्तव्य बन्दै ‘ऐरावती पिकनिक पार्क’

राधिका भुषाल | असाेज ८ गते २०८०

असोज ७ प्यूठान। पर्यटकीय स्थल ऐरावती पिकनिक पार्कमा हिजोआज आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । वरिपरि जंगलले घेरिएको पार्कमा दैनिक जसो पर्यटकहरु आउने गरेका छन् । ऐरावती गाउँपालिकाको–५ पकलाको पिपलनेटामा पर्ने  पिकनिक पार्कको अहिले रुप पनि  फेरिँदै गएको हो ।

स्थानीय तहको दोस्रो निर्वाचन पछी ऐरावती गाउँपालिकाले यस ठाउँलाई विशेष महत्वका साथ पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्दै गएको छ । हाल उक्त ठाउँमा अवलोकन गर्न, सेल्फी खिच्न र वनभोज खान आउने आन्तरिक तथा बाह्य पर्यटकको सङख्या बढ्दै गएको पार्क हेरालु गोपाल कुमार कुमालले बताउछन् । ‘१ वर्ष जति भो यस पार्क हेरालुको रुपमा बसेको ।’ उनले भने– ‘एक जना बराबर ५ रुपियाँ शुल्क लिने र पिकनिक मनाउन आउनेहरुको लागी ३ सय शुल्क लिने गरेका छौं ।’ करिव गत आर्थिक  वर्षमा ३ हजार भन्दा बढी पर्यटक अवलोकन गर्न आएको हेरालु कुमालले जानकारी दिए । पर्यटकहरुबाट उठाएको शुल्क मर्मत सम्भारमा लगाउनुका साथै आफुलाई ३० प्रतिशत पारिश्रमिक दिने गरेको उनले बताए ।      

ऐरावती पिकनिक पार्क पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न गाउँपालिकाले २०७६ साल देखी हालसम्म करिव २ करोड ६ लाख खर्च गरिसकेको छ । सामाजिक सञ्जालबाट पनि यस ठाउँको प्रचारप्रसार हुन थालेपछि ऐरावती पिकनिक पार्क पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले बताउँछन् । उनले भने– ‘ हाम्रो गाउँपालिका भित्र धेरै धार्मिक तथा पर्यटकीय स्थलहरु छन् त्यो मध्ये यो पिकनिक पार्क मुख्य हो । यस ठाउँ आकर्षक गन्तव्य देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।’ धार्मिक पर्यटनको रुपमा निकै स्थापित ऐरावती धाम पालिकाको मुख्य चिनारीको रुपमा रहेको उनी बताउछन् ।

ऐरावतीलाई पिकनिक पार्कमा सभाहल, चिप्लेटी, वाटर फाउनटेन, गोलघर  मन्दिर, रेलिंङ र बस्ने बेन्च लगायतका थुप्रै पूर्वाधार निर्माण गरेको  छ भने पिउने पानी र शौचालयको पनि सुविधा छ । भालुवाङ –प्युठान सडक खण्ड चेरनेटा बाट करिव १२ किलो मिटरमा रहेको पार्क रहेको छ ।  ऐरावती पिकनिक पार्क प्युठानको मात्र नभई लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ ।’ अध्यक्ष शाहले भने– ‘सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।’ उक्त पार्कलाई ७ करोड २५ लाख रुपैंयाको लागत लाग्ने अनुमान गरिएको अध्यक्षतामा शाहले बताउछन । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page