प्युठान।कृषिजन्य बस्तुको बजारीकरण सहजताका लागि बड्डाडा बजारमै संकलन केन्द्र स्थापना गरिएको छ।ऐरावती बहुउदेश्यीय साना किसान सहकारी संस्था लिमिटेडले सरुमारानी गाउँपालिका -४ बड्डाडामा कृषिजन्य संकलन केन्द्र संचालनमा ल्याएको हो।
एक हजार ४ सय ५६ जना सदस्य रहेको ८ सय ४० जना सदस्यले कृषिजन्य बस्तुहरु उत्पादन गर्दै आएको संस्थाको व्यवस्थापक रेवत प्रसाद खनालले बताए।२०६० साल पुस ६ गते विधिवत रुपमा संचालनमा आएको यस सहकारीले ३०६३ साल देखि संकलन केन्द्र संचालन गरेको उनको भनाई छ।‘हाम्रा सदस्यहरुलाई व्यवसायी बनाउन प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको सहयोगमा अदुवा खेती चाक्ला बन्दि क्षेत्र विस्तार कार्यक्रम समेत संचालन गरेका छौ।उनले भने, ‘पाँच सय ५० जना सदस्यहरुले ब्यवसायीक अदुवा खेति गर्दै आएका छन्।’ सरुमारानी गाउँपालिका ३ सजिकोटका ७८ जना किसानलाई आबद्ध गराई २ रोपनी जमिनमा अदुवा तथा वेसार खेति गर्दै आएको व्यवस्थापक खनालले जानकारी दिए।अदुवालाई मूल्य बृद्दि शृंखलामा जोड़न १४ वटा अदुवा भण्डारण भकारी निर्माण गरिएको उनको भनाई छ।ग्राहकको मागलाई मध्यनजर गरि उनीहरुको सहजताका लागि संकलन केन्द्रको शाखा विस्तार गरिएको समेत उनले बताए।

सरुमारानी गाउँपालिका -४ बड्डाडामा संचालन गरिएको संकलन केन्द्रमा बिशेष गरि बिभिन्न सिजनको मह, अदुवा, बेसार, धुलो बेसार, पिंडालु, चिउरी घ्यु, घ्यु, भटमास, सिमि ,बोडीको दाल,तरुल,गुन्द्रुक,सिस्नोको धुलो लगायतका करिव ३० प्रकारका कृषिजन्य बस्तुहरु खरिद बिक्री गर्दै आएको पूर्ण बहादुर चर्ती मगरले बताए।‘हामीले मुख्य गरि काठमाडौं ,बुटवल र पूर्वी रुकुम सन्धिखर्कमा रहेको सारथी बहुउदेश्यीय सहकारीमा यहाँको सामान बिक्रि गर्ने गरेका छौ।’ संकलन केन्द्रका संचालक मगरले भने-‘ यहाँ उत्पादन नहुने ओखरको घाँजी, भागोको तेल र कालो चामल आयात समेत गर्ने गरेका छौ।’ गत असोज देखी शाखा विस्तार गरि संचालनमा ल्याएको संकलन केन्द्रबाट मासिक करिव २ लाख ५० हजार बराबरको कारोबार हुने गरेको उनले बताए।संकलन केन्द्रबाट बिक्रि वितरण गरिने अदुवाको धुलोको लेवलिङ र प्याकेजिङमा प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्वान्वयन ईकाई प्युठानले सहयोग गर्दै आएको मगरले बताए।
कृषि उपजको बस्तुहरुको स्टीगर छपाईमा एकीकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालयले सहकार्य गर्दै आईरहेको छ।साथै बजारमा राखिएको संकलन केन्द्रको घरको भाडा सरुमारानी गाउँपालिकाले दिने गरेको छ।