समय : १०:४६ am | शुक्रबार , चैत्र ६ गते २०८२

पुग्नै पर्ने एक गन्तव्य ओखरकोट

स्वर्गद्वारी अपडेट | पौष २८ गते २०७९
लवकुमार अधिकारी अटल रुपमा रहेका अग्ला–अग्ला चुचुराको काखमा घेरिएको ठूला–ठूला पहाड । ती ठूला–ठूला पहाडको छेउमै जस्तो देखिने सेता मोती जस्तो टल्किने हिमाल । झमक्क साँझ परेको बेला पल्लो गाउँमा बलिरहेको बत्ती हेर्दा आकासमा तारा चम्किरहेको अनुभूति दिलाउने गाउँ । हरिया डाँडापाखा, ग्रामीण जीवनशैली, स्थानीय संस्कृति, आत्मीय गाउँले र अर्गानिक खानपान, ओखरकोटका विशेषता हुन् । आकाश उघ्रिएका बेला गाउँबाट चारिखेल्ने डाँडो, गडीकोट आलामदेवी मन्दिर र धौलागिरी हिमालको दर्शन पाइन्छ । साथमा सूर्योदय र सूर्यास्तको मिठो दृश्य त छँदैछ । गर्मी मौसममा पनि ज्याकेट लगाउनुपर्ने र सुत्दा सिरक ओढ्नुपर्ने गन्तव्य हो– प्यूठान, ओखरकोट । झिमरुक गाउँपालिका–५, प्यूठानको करिब (१,४०० मिटर) उचाईमा रहेको प्रकृतिको अतुलनीय उपहार हो । वरिपरि ठूला–ठूला, अग्ला पहाडहरुले घेरिएको, बीचमा आधा प्यूठानको भाग देखिने गरी पोखरीको मौलो झैँ ठिंग उभिएको पहाड हो, ओखरकोट कोटघर । मोटर बाटोको सुविधाले गर्दा चिसो लेकको हावामा रम्न चाहने जो कोही यहाँ सजिलै र चाहेको बेला पुग्न सक्छन् । प्यूठान नगरपालिकाको बाग्दुलाबाट बायाँतर्फ कच्ची सडक खण्ड रहेको झिमरुक नदीको किनारै–किनार मनोरम फाट हेर्दै करिब १३ किलोमिटरको यात्रापछि झिमरुक गाउँपालिकाको केन्द्र मानिने मच्छी बजार पर्छ । पछिल्लो समय पर्यटकको रोजाइमा परेको मच्छी बजार स्थानीय पर्यटनहबको रूपमा विकसित हुँदै गएको छ । गौमुखी गाउँपालिका र प्यूठान नगरपालिकाको बीचमा रहेको झिमरुक गाउँपालिकाको नामकरण नदीबाट रहेको स्थानीय दलबहादुर जिसी बताउँछन् । जाडो याममा पनि निकै चिसो र गर्मी याममा पनि चिसो विचित्रको मौसमले सबैलाई लठ्ठै बनाउँछ । मच्छी बजारदेखि पहाडी क्षेत्रको नालीबेली परेका घुमाउँरो बाटो, सल्लेरी घारी हँुदै करिब ३० मिनेटको उकालो यात्रापछि ओखरकोट गाउँ पुगिन्छ ।
  ‘बादिकोट ओखरकोट पर्यापर्यटन प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत डीभिजन वन कार्यालय प्यूठानले गत आर्थिक वर्षमा ५ लाख सहयोग गरेको बताए, स्थानीय विकास थापाले । सिमेन्टको बेञ्च, लव आकारको मेटल सेल्फी स्ट्यान्ड र विभिन्न फूलका प्रजातिहरूले मन्दिरलाई थप आकर्षण दिएको छ । स्थानीय बिजुवार, खलंगा बाग्दुला, जस्पुर, भिंग्री बजार र छिमेकी जिल्ला आर्घाखाँची, गुल्मी र रोल्पाका बासिन्दाले गर्मी छल्ने, विकेण्ड मनाउने र परिवारसँग रमाउने रोमाण्टिक गन्तव्यका रुपमा रहेको ओखरकोटमा काठमाडौंदेखिका पर्यटकसमेत हयाङ्आउट हुन आउने गरेका छन् । ओखरकोट गाउँमा होमस्टे सुविधा छ । मच्छि बजारमा पर्यटकीय सुविधासम्पन्नका होटल पनि छन् । यो ठाउँमा स्थानीय संस्कृति, रहनसहन र खानपानमा रमाउन सकिन्छ । चौबिसे शासनकालको एउटा गढीकोट समेत छ । प्रत्येक वर्षको विजया दशमीको नवमिको दिन बादीकोट ओखरकोटको खड्कदेवी मन्दिरमा कोट पूजा गरी बलि दिने गरिन्छ । जिसी समुदायको बर्चस्व रहेको छ । स्थानीय दलबहादुर भन्छन् –‘परस घर्ती जिसीको जेठो गौरा मध्येबाट पुजारी हुने प्रचलन छ ।’ यदि गौरा रोकिएको छ भने प्रचलनअनुसार अरु दाजु भाइहरुलाई पुजारी बनाइन्छ । यहाँ ४ सय २० घर धुरी छन् । गाउँमा मकै, कोदो, जांै, गहुँ, तोरी, आलु, काउली, साग, मुलालगायत फलाइन्छ । त्यसैगरि बाख्रा, कुखुरा र भैंसीपालन पनि गरिन्छ । कोटघरबाट देखिने गाउँ बाङ्गेमरोड, सौतामारे, बादीकोट, नारिकोट, ओखरकोट, तुषारा अल्गावाज, लिवाङ, टिमुरचौर, गौमुखिको पन्चासे धुरी, बौडा, तोर्बाङ्गका चुचुराको बीचमा सजिएको छ, ओखरकोट । ग्रामीण जीवनशैलीको सुवास पाइने गाउँ । डाँडासम्मै सडक पिच हुने तयारी छ । यात्रा गर्न केही समयपछि झन् सजिलो हुनेछ । राम्रो प्रचारप्रसार हुन सके ओखरकोटमा आन्तरिक पर्यटकको घुइँचो लाग्नेछ । त्यसका लागि यहाँका पर्यटन व्यवसायी र गाउँपालिकाको नेतृत्वले पहल गर्नुपर्ने देखिन्छ । उता शहर भीडभाड छ । मान्छेहरुको भिड उस्तै छ । शहरमा दौडीरहने सवारी साधन उस्तै छन् । तर ओखरकोट बिल्कुलै फरक छ । तपाईं पनि रोमान्टिक हिलस्टेशन ‘ओखरकोट’ जाने हैन त ?                                                                        अधिकारी रेडियो स्वर्गद्वारी प्यूठानका स्टेशन प्रमुख हुन् ।

यो पनि पढ्नुहोस्