समय : ०१:३६ am | मङ्गलबार , फागुन ११ गते २०८२

प्यूठानमा मतदाता नामावली अद्यावधिक गरिँदै

स्वर्गद्वारी अपडेट | भाद्र ८ गते २०७९
अनुज पछाई,प्यूठान । जिल्ला निर्वाचन कार्यालय प्यूठानले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । आगामी मङ्सिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वतयारी स्वरूप जिल्ला निर्वाचन कार्यालयले जिल्लाका ९ वटै स्थानिय तहहरुमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो । निर्वाचनको तयारी स्वरूप जिल्ला निर्वाचन कार्यालयले मङ्गलबार प्यूठानमा मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम सम्वन्धी अन्तरक्रिया गरेको छ । निर्वाचन आयोगले तय गरेको निर्वाचन सम्बन्धी कार्यक्रम कार्यन्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी देबिराम पाठकले जानकारी दिए । जिल्लाका ९ स्थानीय तहमा यही भदौ १० गते देखि १२ गतेसम्म जिल्ला, पालिका र वडा सम्म मतदाता नामावली टाँस गर्ने पाठकले बताए । निर्वाचन अधिकारी पाठकका अनुसार भदौ १३ देखि १५ गते सम्म प्रत्येक स्थानीय तहको केन्द्रमा आफ्नो नामावली सच्याउने, दोहोरो हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सम्पूर्ण मतदातालाई जानकारी गराइने छ । जिल्लामा स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने छन् । सो कार्यक्रम मार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटि हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरू सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदानका कार्य गरिने जानकारी दिइएको छ । त्रुटि सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने, त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरो परीक्षण गरी दोहोरिएको डाटा हटाउने र आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराएर सोको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी पाठककले बताए ।

यो पनि पढ्नुहोस्