समय : ०८:४३ am | सोमबार , भाद्र २९ गते २०८३

आज हरितालिका तीज मनाइदै

स्वर्गद्वारी अपडेट | भाद्र २९ गते २०८३

काठमाडौं । आज हरितालिका तीज देशभर धुमधामका साथ मनाइँदै छ । तीजका अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा शिव–पार्वतीको पूजा आराधना गर्ने परम्पराअनुसार बिहानैदेखि व्रतालु महिला तथा अन्य भक्तजन पशुपतिनाथ पुगेका हुन् । पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।

तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको छ । मन्दिर दर्शनका लागि आएका भक्तजनको भिड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोष तथा सुरक्षा निकायले आवश्यक प्रबन्ध मिलाएका छन् ।

तीजका दिन निराहार व्रत बसेर विधिपूर्वक शिव–पार्वतीको पूजा गरेमा मनोकामना पूरा हुने तथा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

धार्मिक कथाअनुसार सत्ययुगमा पार्वतीले आजकै दिन निराहार व्रत बसेर महादेवलाई पति प्राप्त गरेकी थिइन् । त्यही विश्वासका आधारमा तीजमा विशेषगरी महिलाले शिवको पूजा आराधना गर्दै व्रत बस्ने परम्परा रहिआएको छ ।

पशुपतिनाथसहित काठमाडौं उपत्यका र देशभरका शिवालयमा पनि आज बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

यो पनि पढ्नुहोस्