प्युठान। नेपाली कांग्रेस गौमुखी गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रलाई ज्ञापन पत्र बुझाएको छ।पालिकामा लामो समयदेखि देखिएको विद्युत् आपूर्तिसम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै प्युठान वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ।
बुधबार बुझाइएको ज्ञापनपत्रमा दुर्गम क्षेत्रका नागरिकले नियमित तथा गुणस्तरीय विद्युत् सेवा पाउन नसक्दा दैनिक जनजीवन प्रभावित भएको उल्लेख गरिएको छ।विशेषगरी साँझ ६ बजेदेखि राति १० बजेसम्म हुने अघोषित लोडसेडिङका कारण पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या रहेको जनाइएको छ।
त्यसैगरी, अधिकांश स्थानमा विद्युत्का तार र पोल जीर्ण अवस्थामा रहेकाले विद्युत् आपूर्तिमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको ज्ञापनपत्रमा उल्लेख छ।बारम्बार विद्युत् आउने–जाने तथा भोल्टेज घटबढ हुँदा सरकारी तथा निजी कार्यालय, विद्यालय र अन्य सेवा प्रदायक संस्थाको सेवा प्रवाह प्रभावित भएको र सर्वसाधारणका विद्युतीय उपकरणमा क्षति पुगिरहेको पनि ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्रमा अर्थिङ प्रणाली प्रभावकारी नहुँदा विद्युतीय सुरक्षामा समेत जोखिम बढेको उल्लेख गर्दै प्राविधिक अध्ययन, मर्मत–सम्भार, जीर्ण तार तथा पोलको व्यवस्थापन, नियमित अनुगमन र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
सो ज्ञापनपत्रमा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका अध्यक्ष मधुराम केसीले हस्ताक्षर समेत गरेका छन्।
ज्ञापनपत्र









