समय : १२:०३ pm | शनिबार , श्रावण २ गते २०८३

अन्तर्राष्ट्रिय पाककला प्रतियोगितामा प्युठानका सेफ युवराज विजेता

स्वर्गद्वारी अपडेट | श्रावण २ गते २०८३

प्युठान। प्युठानको माण्डवी गाउँपालिका–२, खुक्लिचौरका सेफ युवराज पुन मगरले भारतको चेन्नईमा आयोजित अन्तर्राष्ट्रिय पाककला (फुड कम्पिटिसन) मा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएका छन्।

गत जुलाई ९, २०२६ मा चेन्नईमा सम्पन्न प्रतियोगितामा नेपालसहित विभिन्न देशका व्यावसायिक सेफहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएर विजेता बनेका पुनले आफ्नो सफलता व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण नेपाली शेफ समुदाय र नेपाली खानाको अन्तर्राष्ट्रिय सम्मानसँग जोडिएको बताएका छन्।

हाल भारतको चेन्नईमा कार्यरत पुनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मौलिक परिकार, संस्कृति र स्वादलाई विश्वसामु परिचित गराउने उद्देश्यका साथ निरन्तर काम गरिरहेको बताए।उनका अनुसार आईसीए (ICA) को मञ्चमा ५२ देशका सेफहरूको उपस्थितिबीच नेपालको मौलिक खानाको स्वाद, परम्परा र पहिचान प्रस्तुत गर्ने अवसर पाउनु आफ्नो जीवनकै महत्वपूर्ण क्षण बनेको बताए।

उनले नेपाली खाना केवल परिकार नभई नेपालको संस्कृति, पहिचान र गौरवको प्रतीक रहेको उल्लेख गर्दै विश्वका विभिन्न मुलुकमा नेपाली स्वादलाई स्थापित गर्न आफू समर्पित भएर लागिरहेको सेफ पुनको भनाई छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा प्युठानका युवाले हासिल गरेको यो उपलब्धिलाई माण्डवी गाउँपालिकाका वडा -२ का वडाध्यक्ष प्रकाश वलीले सेफ मगरलाई वडबाट गर्न सक्ने सबै सहयोग गर्ने बताएका छन्।

यो पनि पढ्नुहोस्