समय : १२:५५ am | शनिबार , श्रावण १ गते २०८३

प्युठान ट्राफिक प्रहरी कार्यालयद्वारा ४४ लाख बढी राजस्व संकलन

आ.व २०८२/०८३ असार मसान्तसम्म ६ सय १० पटक सचेतनामुलक कार्यक्रम गरि २४ हजार ४ सय ५७ जना प्रत्यक्ष रुपमा आम सर्वसाधारणहरु लाभान्वित भएको कार्यालयले जानकारी दिएको छ।

लव कुमार अधिकारी | श्रावण १ गते २०८३

प्युठान।जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले आर्थिक वर्ष २०८२/८३ को असार  मसान्तसम्म रु ४४ लाख बढी राजस्व संकलन गरेको छ।

ट्राफिक नियमको उल्लंघन गर्ने ३ हजार ९  सय ५९ सवारीसाधनहरुलाई कारबाही गरी रु ४४ लाख २७ हजार ५ सय राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक बिष्णु न्यौपानेले   जानकारी दिए।

यस्तै आव २०८२/८३ को असार मसान्तसम्म प्युठान जिल्लाको बिभिन्न स्थानमा भएको १ सय ३ वटा सवारी दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ।मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा १८ पुरुष, २ महिला ४ बालक ३ बालिका गरि २७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले जनाएको छ।

बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, सडक पैदल प्रयोगकर्तालाई ट्राफिक नियमको जानकारी नहुँदा र चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण समेत सवारी दुर्घटना बढेको प्रमुख प्रहरी नायब निरीक्षक न्यौपानेको भनाई छ।

जिल्ला ट्राफिक कार्यालय प्युठानले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि प्युठानको बिभिन्न स्थानमा सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गर्दै बिद्यालय, चालक, यात्रु तथा सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम उल्लंघन गर्दा हुन सक्ने सम्भाबित दुर्घटनाको बारेमा जानकारी गराउदै सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ।

आ.व २०८२/०८३ असार मसान्तसम्म ६ सय १० पटक सचेतनामुलक कार्यक्रम गरि २४ हजार ४ सय ५७ जना प्रत्यक्ष रुपमा आम सर्वसाधारणहरु लाभान्वित भएको कार्यालयले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालय प्युठानमा १६ जना ट्रफिक कार्यरत रहका छन्।

यो पनि पढ्नुहोस्