समय : ०१:०३ am | शनिबार , असार ५ गते २०८३

माण्डवीमा स्काउट स्थापना दिवसमा जेब्रा क्रसिङ निर्माण

स्वर्गद्वारी अपडेट | असार ५ गते २०८३

प्यूठान।७५औँ स्काउट स्थापना दिवसको अवसरमा प्यूठानको माण्डवी गाउँपालिका–३ नयाँगाउँस्थित माण्डवी स्काउट ट्रुपले सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ निर्माण गरेको छ।

माण्डवी गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा जस्पुर–रोल्पा सडक खण्डअन्तर्गत नयाँगाउँ क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएको हो।विद्यार्थी तथा पैदलयात्रीले जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जेब्रा क्रसिङ निर्माण गरेको छ। आगामी दिनमा पनि बढी भीडभाड हुने स्थानहरूमा थप जेब्रा क्रसिङ निर्माण गर्ने योजना रहेको माण्डवी स्काउट ट्रुपका लिडर आदित्य केसीका बताए।

स्काउटर पवन पोख्रेलले विद्यार्थी र पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राखेर जेब्रा क्रसिङ निर्माण गरिएको बताउँदै यसले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

माण्डवी माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनबहादुर पुनले पर्याप्त स्रोत–साधनको अभावका कारण जेब्रा क्रसिङ निर्माण हुन नसकेको अवस्थामा स्काउट विद्यार्थीहरूले सकारात्मक र उदाहरणीय कामको थालनी गरेको भन्दै प्रशंसा गरेका थिए।

जेब्रा क्रसिङ निर्माण अभियानमा माण्डवी गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी,  वडा– ३ का वडाध्यक्ष धनेन्द्र कार्की, प्रधानाध्यापक मीनबहादुर पुन, स्काउटर पवन पोख्रेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रहरी सहायक निरीक्षक पिताम्बर भण्डारी, प्रहरी हवल्दार मदनप्रसाद शर्मा, स्काउट विद्यार्थी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

यो पनि पढ्नुहोस्