प्युठान।स्वर्गद्वारी नगरपालिका-३ जलुके स्थित माडी नदीमाथि निर्माणाधीन पक्की पुलको ठेक्का तोडिएको छ। मृत संजीवनी लोहनी एण्ड जेभी ब्रदर्श काठमाडौंको निर्माण कम्पनीको चरम लापर्बाहीका कारण पुल बर्षौ देखि अलपत्र परेको हो।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरूप ९ करोड ८५ लाख रुपियाँमा उक्त पुल निर्माण प्रारम्भ भएको थियो ।सडक डिभिजन कार्यालय प्युठान र निर्माण कम्पनी बीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा पटक-पटक थप म्यादसमेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि अलपत्र पुलको ठेक्का तोडेको सडक डिभिजन प्युठानका प्रमुख दिपक सुनारले जानकारी दिए।
ठेक्का रद्द गरिएका निर्माण व्यसायीबाट सार्वजनिक खरिद नियमावली, ०६४ को नियम १४१ र ठेक्का सम्झौताको प्रावधानबमोजिम कालोसूचीमा राख्न सिफारिस गरिने र ठेक्का सम्झौताको प्रावधानबमोजिम कार्य सम्पादन जमानत, धरौटीबापतको रकम पेस्की जफत गरिने कार्यालयले जनाएको छ।
कार्यालयले ठेक्का सम्झौता तोड्दै १५ दिनभित्र निर्माण व्यवसायीलाई वित्तीय फरफारक गर्न समय दिएको छ ।
ठेक्का लिएका निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दै आएपछि स्थानीयवासीले चर्को गुनासो गर्दै आएका थिए।









