समय : ०१:१८ am | बिहिबार , जेठ २७ गते २०८३

प्युठानमा नेपालकै पहिलो हरित हाइड्रोजन प्लान्ट उद्घाटन

लव कुमार अधिकारी | जेठ २७ गते २०८३

प्यूठान।बुटवल पावर कम्पनीले लिमिटेड (बीपीसी) ले प्यूठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन (ग्रीन हाइड्रोजन) पाइलट परियोजनाको औपचारिक उद्घाटन गरेको छ।यो परियोजनाले नेपालमा हरित हाइड्रोजन उत्पादन, भण्डारण तथा उपयोगको प्राविधिक र आर्थिक सम्भावनाको परीक्षण गर्ने उद्देश्य राखेको कार्यालयले जनाएको छ।

माण्डवी गाउँपालिका -३ दारिमचौर स्थित बीपीसीद्वारा सञ्चालित झिमरुक हाइड्रोपावरको परिसरमा स्थापना गरिएको उक्त परियोजनाले नवीकरणीय जलविद्युत् ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन (इलेक्ट्रोलाइसिस) प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गर्ने सोहि कार्यालयका प्रमुख शोभाकर पन्तले जानकारी दिए।'परियोजना वर्ड बैंकको प्राविधिक सहयोग  (एफसीडीओ) मार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।' उनले भने,' २०८२ कार्तिक ८ गते सो परियोजनाको सम्झौता गरि संरचना निर्माण कार्य सुरु गरिएको थियो।' २०८२ चैत्र ३० गते पहिलो पटक  सिलिण्डरमा ग्यास भरी सफल परिक्षण गरिको प्युठानका प्रमुख पन्तले बताए।नेपालमै पहिलो पटक हरित हाइड्रोजन (ग्रीन हाइड्रोजन)को सफल परिक्षण पश्चताप मंगलबार औपचारिक रुपमा उद्घाटन गरिएको उनको भनाई छ।       

उद्घाटन समारोहमा लुम्बिनी प्रदेशक सांसद तुल्सीराम पोखरेल, ऊर्जा मन्त्रालयका प्रतिनिधि, प्यूठान जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, एफसीडीओ, विश्व बैंकका प्रतिनिधि, प्युठानका प्रमुख जिल्ला अधिकारी, नेपाल विद्युत प्राधिकरणका  प्रतिनिधि बीपीसी र संचारकर्मीहरुको सहभागिता रहेको थियो।

९९.९९ प्रतिशत शुद्धताको हाइट्रोजन उत्पादन

बीपीसीको पाइलट प्लान्टमा ५० किलोवाट क्षमताको क्षारीय इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ, जसले ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्न सक्षम रहेको कम्पनीका संचालक समितिका सदस्य बिजय बहादुर श्रेष्ठले बताए।'उत्पादन गरिएको हाइड्रोजनलाई १५० बार दबाबमा कम्प्रेस गरी सिलिन्डरहरूमा भण्डारण गरिनेछ।' उनले भने,'यसबाट हाइड्रोजनको सम्भावित विभिन्न उपयोग, सुरक्षा, भण्डारण तथा सञ्चालन सम्बन्धी परीक्षण र मूल्यांकन गर्न सकिनेछ।' यो परियोजनाको ईपीसी ठेकेदार चीनको  सिपियु हाईट्रोजन पावर टेक्नोलोजी लिमिटेडले निर्माण गरेको हो।' प्लान्ट १३ अप्रिल २०२६ मा सफलतापूर्वक सञ्चालनमा ल्याइएको थियो र सोही दिन पहिलो हाइड्रोजन सिलिन्डर सफलतापूर्वक भरिएको समेत संचालक समितिका सदस्य बिजय श्रेष्ठले बताए।

उर्जा क्षेत्रमा नवप्रवर्तनको परिक्षण

बीपीसीका अनुसार यो परियोजनाले नवीकरणीय ऊर्जा क्षेत्रमा नवप्रवर्तन तथा उदीयमान स्वच्छ ऊर्जा प्रविधिको व्यावहारिक परीक्षणप्रति कम्पनीको प्रतिबद्धता झल्काउँछ। परियोजनाबाट हाइड्रोजन उत्पादन, सङ्कुचन, भण्डारण, सुरक्षा, सञ्चालन, प्राविधिक कार्यसम्पादन, आर्थिक व्यवहार्यता तथा नेपालमा सम्भावित प्रयोगका क्षेत्रबारे महत्वपूर्ण अनुभव र सिकाइ प्राप्त हुने अपेक्षा गरिएको छ।

यसैबीच, नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४मा हेटौंडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने गरि बजेट विनियोजन गरेको छ।

ग्रिन हाइड्रोजन भनेको के हो ?

ग्रीन हाइड्रोजन भनेको पानीलाई नवीकरणीय ऊर्जा स्रोत जस्तै जलविद्युत्, सौर्य वा वायु ऊर्जाबाट प्राप्त विद्युत् प्रयोग गरी हाइड्रोजन र अक्सिजनमा छुट्याएर उत्पादन गरिने स्वच्छ इन्धन हो।पानीमा विद्युत् प्रवाह गराएर हाइड्रोजन निकाल्ने प्रक्रियालाई 'इलेक्ट्रोलाइसिस' भनिन्छ।

भविष्यको हरित ऊर्जा स्रोतका रूपमा हेरिएको ग्रीन हाइड्रोजनले उद्योग, यातायात, मल उत्पादन तथा ऊर्जा भण्डारण क्षेत्रमा जीवाश्म इन्धनको विकल्प दिन सक्ने विश्वास गरिएको छ।

यो पनि पढ्नुहोस्