प्युठान – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेपाली कांग्रेसबाट निर्वाचित दुई जना वडाध्यक्ष पदमुक्त भएका छन्।
२०७९ को निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित रविन्द्र केसी र धुर्कोट गाउँपालिका ३ को वडाध्यक्षमा निर्वाचित पदमबहादुर विष्ट पदमुक्त भएका हुन्।
राजनीतिक दलसम्बन्धि २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धि नियमावली २०७४ को नियम ३२ मा दल त्याग गरेमा पदमुक्त हुने व्यवस्था छ।
सोही व्यवस्था अनुसार कांग्रेसले उनीहरूलाई पार्टी परित्याग गरेको भन्दै पदमुक्त गरेको निर्णय निर्वाचन आयोगमा बुझाएको थियो। आयोगले बिहीबार सूचना जारी गर्दै दुवै जना पदमुक्त भएको जानकारी दिएको छ।
पदमुक्त भएका वडाध्यक्ष केसीले आयोगका निर्णयकाबारेमा केही नसोचेको जानकारी दिए। अदालत जाने तयारीका विषयमा उनले पहिले सल्लाह गर्ने बताए। ‘पदमुक्त भएको सूचना आएको छ। आइतबारसम्म बिदा नै छ। अदालत जाने नजाने विषयमा सल्लाह गर्छु’, उनले देशसञ्चारसँग भने।
उनी चैतमा रास्वपा प्रवेश गरेका थिए।
यस्तै विष्ट भने भदौ २३ गते भएको जेनजी आन्दोलनको दिन नै कांग्रेस पार्टी परित्या गर्दै रास्वपा प्रवेश गरेका थिए। तत्कालीन गृहमन्त्री कांग्रेसका रमेश लेखक थिए। जेनजी आन्दोलनमा दमन भएको भन्दै उनले कांग्रेस छाडेका थिए।
उनले आफूहरू अदालत जाने बताए। ‘हामीहरू अदालत जान्छौँ। किन पनि हो भने हामी पाँच वर्ष जनताको सेवाका लागि निर्वाचित भएका हौँ। जनताको सेवा पूरा कार्यकाल गर्न पाउनुपर्छ भन्ने हिसाबले पनि हामी अदालत जान्छौँ’, उनले भने।
उनी हाल रास्वपाको लुम्बिनी प्रदेश कमिटीका सदस्यसमेत हुन्।








