समय : ०९:३३ pm | शनिबार , वैशाख २६ गते २०८३

सुन्दर प्यूठान–सडक सुरक्षा अभियानमा बिद्यार्थीसँग ट्राफिक

स्वर्गद्वारी अपडेट | वैशाख २६ गते २०८३

प्यूठान।प्युठानमा ‘सुन्दर प्युठान–सडक सुरक्षा अभियान’मार्फत सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले बिद्यार्थीसँग ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गरेको छ।शुक्रबार प्युठान नगरपालिका –रातामाटा स्थित मुक्ति माविमा सो सचेतना कार्यक्रम सम्पन्न गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले संचालन गरेको कार्यक्रममा कक्षा ११ र १२ को विद्यार्थी र शिक्षक गरि १ सय ९१ जना सहभागिता रहेको प्रहरी नायब निरक्षिक एवं ट्राफिक प्रमुख विष्णुप्रसाद न्यौपानेले बताए।सो कार्यक्रममा सडक सुरक्षासम्बन्धी आधारभूत ज्ञान, ट्राफिक नियमको महत्व र दुर्घटनाका कारणबाट बच्ने उपायबारे जानकारी दिएको ट्राफिक प्रमुख न्यौपानेको भनाई छ।

त्यसैगरी प्रहरी हवल्दार मदन शर्मा र प्रहरी सहायक हवल्दार लक्षमण गिरीले ट्राफिक शिक्षासम्बन्धी विविध विषयमा सहजीकरण गरेका थिए।दैनिक जीवनमा अपनाउनुपर्ने सावधानी, सडक अनुशासन, सार्वजनिक सवारी प्रयोग गर्दा ध्यान दिनुपर्ने र समुदायको भूमिकाबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिएको हवल्दार गिरीले बताए।

विद्यार्थीहरूलाई लक्षित गर्दै सडक पार गर्ने सही तरिका, जेब्राक्रसिङको प्रयोग, हेल्मेट तथा सिटबेल्टको महत्व, तीव्र गति र लापरवाहीका जोखिम, Drink drive बाट घट्ने अप्रीय घटना ,सडकमा हिड्दा दाहिने दिशाबाट हिड्नुपर्ने,रातको समयमा टल्कने कपडा (सेतो वा पंहेलो-रिफ्लेक्टिप)लगाउनु पर्ने,मोबाइल प्रयोग गर्दै सडकमा हिँड्दा वा सवारी चलाउँदाको खतरा लगायतका विषयमा बताईएको थियो।

कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपानेले गरेका थिए।

यो पनि पढ्नुहोस्