प्युठान।एक कप चियाको कति पैसा पर्ला ? ठाउँ हेरेर कम्तिमा २५ रुपैयाँ। तर प्युठानको जस्पुरमा रहेको आर्घाखांची डेरी उद्योगमा दुई रुपैयाँमै चिया पाइन्छ।नयाँ वर्षको अवसरमा दुई रुपैयाँमा चिया अफर ल्याइएको हो।
उद्योगका सञ्चालक चन्द्रमणि सुबेदीले चिया पारखीहरुकै कारण आफ्नो व्यवसाय सफल बन्दै गएकाले दुई रुपैयाँमा चिया अफर ल्याएको बताए। उनले भने, ‘मेरा हरेक ग्राहकले खाने एक कप चिया र दुधजन्य पदार्थबाट बनेका आइटम बिक्रि गरेकै कारण म आज यहाँसम्म आइपुगेको छु।ग्राहक मेरा लागि भगवान हुन्।’ त्यसैले बैशाख १ गते एक दिनको अवसर पारेर मैले आज दुई रुपैयाँमै एक कप चिया अफर ल्याएको हो।दुई रुपैयाँको नोट अथवा सिक्का मात्र प्रयोगमामा ल्याउने संचालक सुबेदीले बताए।
करिब ८ वर्षअघि १ लाख रुपैयाँ लगानीबाट सुरु गरिएको डेरी व्यवसाय हाल विस्तार भई करिब ५० लाख रुपैयाँ लगानी पुगेको छ।उद्योगमा दैनिक करिब ५ सय लिटर दूध तथा दही बिक्री हुने गरेको छ भने, ६ जना कर्मचारी कार्यरत छन्।
उनका अनुसार १ वटा डेलिभरी भ्यान, २ वटा चिलिङ भ्याट, १ ओभन, ५ वटा फ्रिज लगायतका उपकरण प्रयोगमा छन्। आफु दैनिक १२ घण्टा काममा खटिने हुदाँ मेहनत गरे आफ्नै देशमा सफल ब्यबसायी बन्न सकिने समेत उनले भने।
उक्त डेरी उद्योगले बिजुवारमा समेत दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ। साथै, बैशाखको ४ गते आमाको मुख हेर्ने दिनको अवसरमा १ किलो मिठाई खरिद गर्दा १ गिलास लस्सी निःशुल्क प्रदान गर्ने योजना समेत ल्याइएको संचालक सुबेदीले जानकारी दिए।








