दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका छन्। राप्ती उपत्यकामा आयोजित ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा उनलेे यस्तो बताएका हुन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले शुक्रबार आयोजना गरेको उत्कृष्ट सहकारी संस्था पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले केही सहकारी संस्थाहरूको खराब नियतका कारण समग्र सहकारी क्षेत्र बदनाम भइरहेको उल्लेख गरे। त्यस्ता संस्थामाथि नियमन कडाइका साथ भइरहेको उनले स्पष्ट पारे। मुख्यमन्त्री आचार्यले सहकारीहरू सर्वसाधारण नागरिकका लागि महत्वपूर्ण आर्थिक सहारा बनेको उल्लेख गर्दै साना–तिना आर्थिक आवश्यकता सहकारीमार्फत सहज रूपमा पूरा भइरहेको बताए। साथै प्रदेश सरकारले ल्याउने बजेट बराबरकै पुँजी सहकारीमार्फत परिचालन भइरहेको भन्दै प्रदेशको समृद्धिमा सहकारीको योगदान उल्लेखनीय रहेको बताए।
कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन प्रोत्साहन र नियमन दुवै पक्षमा काम भइरहेको जानकारी दिए। प्रमुख सचिव कृष्णप्रसाद काप्रीले असल अभ्यासलाई आत्मसात गर्दै समस्या आउन नदिन एकीकृत रूपमा काम गर्नुपर्ने धारणा राखे।
मन्त्रालयका अनुसार प्रदेशमा हाल ८ सय ४८ सहकारी संस्था रहेका छन्। तीमध्ये ३३ वटा सहकारीविरुद्ध उजुरी परेको छ भने ८ वटाविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ। १२ वटा सहकारीमाथि थप अनुसन्धानका लागि प्रहरीमा पठाइएको छ भने केही सहकारीसँग बचत फिर्ताका लागि सम्झौता गरिएको छ।
पाँच सहकारी पुरस्कृत
यसै अवसरमा विभिन्न चार विधामा पाँच सहकारी संस्थालाई जनही २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ। बचत तथा ऋणतर्फ किसान कमैया कल्याण र राप्ती विश्वासी, बहुउद्देश्यीयतर्फ पश्चिम नेपाल यातायात, उत्पादकतर्फ उत्कृष्ट साना किसान कृषि तथा उपभोक्तातर्फ तुलसी उपभोक्ता सहकारी संस्था पुरस्कृत भएका छन्। कार्यक्रममा सहकारी क्षेत्रलाई पारदर्शी र व्यवस्थित बनाउन ऐन–कानुन समयानुकूल संशोधन गर्नुपर्नेमा समेत जोड दिइएको थियो।








