समय : ०८:५५ am | शनिबार , कार्तिक ८ गते २०८२

प्यूठानमा नाचियो डल्ले सराएँ नाच

जाट राजाको मृत्युको खुसीयालीमा मनाउने किंवदन्ती रहेको यो नाच प्युठानको सबैभन्दा ठूलो नाच समेत हो ।

लव कुमार अधिकारी | कार्तिक ७ गते २०८२

प्युठान।ऐतिहाँसिक महत्व बोकेको डल्ले सराय मेला यस वर्ष पनि थप नयाँ आकर्षकका साथ सम्पन्न भएको छ।जाट राजाको मृत्युको खुसीयालीमा मनाउने किंवदन्ती रहेको यो नाच प्युठानको सबैभन्दा ठूलो नाच समेत हो ।

तेह्रौं शताब्दीमा जनतामाथि क्रूर शासन गरिरहेका भित्रीकोट राज्यका जाट राजालाई जनताको सहयोगमा चन्द राजाले लखेटेर मारेको किवदन्तीका आधारमा जनताको जीतको बिम्बको रुपमा तरवारसहित लडाइँको अभिनय गरेर नाचिने सराय नाचको प्रतिष्पर्धासहित यो मेला सन्चालन गर्ने गरिएको छ ।

प्युठानका स्थानीय सुशील पोखरेलले त्यतिबेला जाट राजालाई जसरी मारियो त्यसैको खुसीयालीमा त्यसकै अभिनयको रूपमा यो नाच देखाउँदै आएको भन्ने जानकारी पाएको उनले बताए।युवापुस्ताले सही ढंगले यसको ऐतिहासिक पक्षको खोजविन गर्नुपर्ने आवश्यकता रहेको समेत पोखरेल बताउछन।

पश्चिम क्षेत्रमा र खासगरी मगरात क्षेत्रमा तत्कालीन सेनाले प्रयोग गरेका हतियारको रुपमा प्रयोग गरेका ढाल, तरवार र खड्गको प्रदर्शन गरेर यो मेलामा स्थानीय साहस देखाउने गर्दछ्न।यो वर्ष विभिन्न मौजाका ८ समूहले प्रतियोगितामा भाग लिएका छन्।

सराय नाच प्रतियोगितामा प्रथम सापडाँडा समुह ,द्वितीय पुन्यखोला समुह र तृतीय स्थानमा थापाडाँडा समुह रहेको छ।

डल्ले सराय नाचको परम्परा तेह्रौँ शताब्दीको अन्त्यतिर सुरु भएको मानिन्छ र २०७० सालदेखि प्रतियोगितात्मक रुपमा आयोजना हुँदै आएको छ।

यो पनि पढ्नुहोस्