समय : ०६:१५ pm | बिहिबार , असाेज ३० गते २०८२

चाडपर्व लक्षित यातायात व्यवस्थापन : सरकारले गर्यो ७ निर्णय

नागरिकलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गर्ने।

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०८२

काठमाडौं ,४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे सरोकारवालासँग छलफल गरी सातवटा निर्णय गरेका छन्।

शनिबार मन्त्रालयमा भएको बैठकमा सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा यातायात व्यवसायी महासङ्घका पदाधिकारी सहभागी थिए। मन्त्री घिसिङले यात्रुहरुलाई २४ घण्टा सडक अवस्थाबारे जानकारी दिने, गुनासो सुन्ने र पहिरो वा अन्य कारणले सडक अवरुद्ध भएमा तत्काल पुनःस्थापना गर्ने व्यवस्थाबारे निर्देशन दिएका छन्।

साथै, चाडपर्वमा यात्रुले सहज, सुरक्षित र छिटो यात्रा अनुभव गर्न सक्ने गरी आवश्यक तयारी तत्काल गर्न सम्बन्धित निकायलाई कडाईका साथ निर्देशन दिएका छन्।

बैठकका निर्णयहरू यसप्रकार छन्:

१.दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायातलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र बाहिर जान दिने, दशैंपछि पुनः प्रवेशको व्यवस्था गर्ने।

२.नयाँ बसपार्कसहित राजमार्गहरूमा सुरक्षा चुस्त बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने।

३.बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर ठूला मालवाहक सवारी सञ्चालन नगर्ने, तर खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानीलाई निरन्तर सञ्चालन गर्ने।

४. देशभरका मुख्य सडक सुधार गर्ने, विपद व्यवस्थापनका सामग्री व्यवस्थापन गर्ने, बुटवल–नारायणघाट सडकमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणघाट–मुग्लिन सडकको अवरोध तत्काल हटाउने र तातोपानी नाका दशैंअघि सञ्चालनमा ल्याउने।

५. नागरिकलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गर्ने।

६. सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेश गर्न निर्देशन दिने।

७.सडक विभागमार्फत देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न कन्ट्रोल रुम सञ्चालन गर्ने र आवश्यक समन्वयका लागि फोकल पर्सन तोक्ने।

यो पनि पढ्नुहोस्