समय : ०९:३९ pm | बुधबार , फागुन २८ गते २०८१

माण्डवीमा नसर्ने रोगको पहिचान गर्ने  

स्वर्गद्वारी अपडेट | फागुन ९ गते २०८१

प्युठान।माण्डवी गाउँपालिकामा स्वास्थयकर्मी, जनप्रतिनीधि र कर्मचारीहरुलाई नसर्ने रोग पहिचान तथा नियन्त्रण गर्ने सम्बन्धी अभिमुखीकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ।सचेतना कार्यक्रमको आयोजक स्वास्थ्य कार्यालय प्युठानले गरेको हो।

शुक्रबार माण्डवी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सर्ने रोग भन्दा नसर्ने रोग बढी जोखिमपुर्ण हुने भएकोले नसर्ने रोगको समयमै निदान हुन सके उपचार सम्भव हुने स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य निरीक्षक राजु खडकाले बताए।उनले भने,‘सर्ने रोगहरुबाट बच्नको लागि हरेक ब्यक्तिहरुले सावधानी अपनाउनुपर्ने हुन्छ।’ तर नसर्ने रोगहरुको समयमै पहिचान नहुँदा जटिल अवस्थामा पुगेपछि मात्र उपचार खोजिने हुँदा नसर्ने रोगबाट धेरैको ज्यान जाने गरेको खड्काले जानकारी दिए।  

नसर्ने रोगहरु बंषाणुगत हुने भएकोले बुवामा देखिएको नसर्ने रोग छोरालाई देखिन सक्ने र यदि छोरामा नदेखिए नातीमा देखिन सक्ने सम्भावना भएको हुँदा नसर्ने रोगहरुको जोखिमबाट बच्न नियमित खाना, शारिरीक ब्यायाम, तनावमुक्त समय र जिवनमा बढी ध्यान दिनुपर्ने समेत बताईएको छ।

सर्ने रोगबाट बच्न सावधानी अपनाउन सकिए जस्तै नसर्ने रोगहरुबाट बच्न पनि लक्षणको आधारमा सावधानी अपनाउन सकिने कुरा कार्यक्रमबाट बुझ्न र सिक्न पाइएकोमा माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले स्वास्थ्य कार्यालयलाई  धन्यबाद ब्यक्त गरेका थिए।उक्त कार्यक्रम संचालन स्वास्थ्य कार्यालय प्युठानका कोल्डचेन  कौसल बैद्यले गरेको थिए।  

स्वास्थ्य जाँच अभियानमा मधुमेह जाँच (रगतमा चिनीको मात्रा परीक्षण), मिर्गाैला सम्बन्धी रोगको जाँच, रक्तचाप(ब्लडप्रेसर) मापन र उचाइ र तौलको आधारमा वि.एम.आई. मापन गरिन्छ । यो अभियान फागनु १ देखि देशभर सञ्चालनमा छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्