प्यूठान।प्रथम भित्रिकोट प्यूठान महोत्सवमा गौमुखी गाउँपालिका ३ रजवारामा उत्पादन भएको किवी विक्रिका लागि ल्याइएको छ । गौमुखी गाउँपालिका ३ रजवारामा २५ क्यून्टल किवी उत्पादन भएको छ । स्थानियवासी नरेन्द्र मल्लले १२ रोपनी आफ्नै जनिममा किवी खेती गरेका थिए ।
उनले यस सिजनमा २५ क्युन्टल किवी उत्पादन भएको बताउछन् । करिब ६ वर्ष अघि काठमाण्डौबाट २५ वटा विरुवा ल्याएर किवी खेती सुरु गरेको बताए । ‘आफ्नै जमिन प्रशस्तै छ’– मल्लले भने–‘केही फरक चिज उत्पादन गर्ने रहरले किवी खेती सुरु गरेको थिए ।’ विरुवा रोपेको ३ वर्ष पछि उत्पादन दिने थालेको उनले बताए । पहिलो वर्ष २ लाख ५० हजारको विक्रि गरेको बताउदै यस वर्ष २५ क्यून्टल विक्रि गरि ६ लाख आम्दानि गर्ने लक्ष्य रहेको उनले बताए।हाल सम्म ५ क्यून्टल विक्रि भइसकेको र अझै २०–२२ क्युन्टल बोटमै तयारी अवस्थामा रहेको मल्लले जानकारी दिए । पौष ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रथम भित्रिकोट प्यूठान महोत्सव उद्घाटनको दिन प्याकेजिङ्ग ग्रेडिङ सहित ४ क्युन्टल किवी विक्रीका लागि ल्याएका छन् ।
किवीसंगै ३ रोपनीमा टिमुर खेती र २ रोपनी जमिनमा अलौची लगाएको समेत उनले बताए । मल्लले बेसार, दाते ओखर, स्याउ, केसर, सतुवा लगायतका फलफुल उत्पादन गर्नुका साथै नर्सरी पनि सञ्चालन गर्दै आएका छन् । नर्सरीबाट हालसम्म २ लाख ५० हजार आम्दानी गरेको उनले बताए । सुमन जडिबुटी फलफुल तथा कृषि नर्सरी फर्म सञ्चालन देखि हालसम्म करिव १६ लाख लगानी गरिसकेको मल्लले बताए । गत वर्ष विक्रिका लागि बुटवलसम्म पठाएका थिए । लगनशील भएर काम गरेमा स्वदेशमै हरेक क्षेत्रमा राम्रो सम्भवना रहेको उनको भनाइ छ ।