प्यूठान । नेपाल पत्रकार महासंघले निकालेको सदस्यता नामावलीमा प्यूठान शाखा गम्भिर असहमति प्रकट गर्दै प्रेस विज्ञप्ति निकालेको छ । जिल्लाले सिफारिस गरेका आधारमाभन्दा आफुअनुकुल पत्रकार महासंघको सदस्यता थपघट गर्ने काम भएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान र नेपाल प्रेस युनियन जिल्ला शाखा प्यूठानले सोमबार छुट्टा छुट्टै विज्ञप्ति नै जारी गरेर विरोध जनाएका छन्।
जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन नजिकिदै गरेको अवस्थामा जिल्ला बाट नयाँ सदस्यताका लागि सिफारिस गरेकाहरुलाई भन्दा आफुअनुकुलका व्यक्तिलाई छनोट गरिएको भन्दै विरोध गरिएको हो। महासंघको सदस्यता शुद्धीकरणमा पूर्ण समर्थन जनाएको जिल्ला शाखा प्यूठाले सदस्यता नामावलीमा भने असन्तुष्टि जनाएको छ।
नामावली शुद्धिकरणका लागी प्यूठान शाखाले प्रेस विज्ञप्तिमा पत्रकारहरुको आस्था र निष्ठाको संगठन नेपाल पत्रकार महासंघको साख र गरिमालाई उच्च राख्ने महान उद्देश्यका साथ थालिएको शुद्धीकरण कोर्ष अन्तर्गत अन्ततः चुनावको मुखमा आएर सदस्यता सुची सार्वजनिक गरिएको छ। शुद्धीकरणका लागि प्यूठान शाखाले व्यापक छलफलका साथ कार्यदलको निर्णयलई समेत आत्मसात गरी तत्पश्चात विभिन्न चरणमा बैठक बसी गरेको सर्वपक्षिय निर्णय र साधारण सभावाट समेत एक मत भई ८१ जनाको सुची अनुमोदनका लागि केन्द्रमा सिफारिस गरिएकोमा केन्द्रीय समितिवाट शुद्धीकरणका नाममा गरेको अत्यन्त हचुवा, अपरिपक्वंता र व्यत्तिगत तथा राजनीतिक स्वार्थ प्रेरित भई शाखाको निर्णय भन्दा वाहिर गएर भनसुन र कानेखुसीबाट सुची तयार पारिएको यो कार्यशैलीले पत्रकारिता क्षेत्रको गरिमा उच्च राख्न होइन गिराउन मद्धत पूर्याएको शाखाको ठहर छ।
केन्द्रीय समितिको यो सार्वजनिक सुचीप्रति प्यूठान शाखा गम्भिर खेद व्यक्त गर्दछ । प्यूठान शाखाले गरेको जस्ताको तस्तै ८१ जनाको सुची अविलम्ब सार्वजनिक गर्न शाखा अनुरोध गर्दछ ।अन्यथा केन्द्रीय समितिको गैर जिम्मेवारपूर्ण निर्णय नसच्चिए सम्म प्यूठान शाखा चुनावी प्रक्रिया लगायत कुनै पनि गतिविधिमा संलग्न नहुने र उत्पन्न परिस्थितिको जिम्मेवारी महासंघ केन्द्रले लिनु पर्ने समेत सचेत गराएको छ।