समय : ०१:४९ am | शनिबार , चैत्र ६ गते २०८२

आलु उत्पादनमा जिल्लाकै अग्रस्थानमा आहालाखोला   

स्वर्गद्वारी अपडेट | वैशाख ५ गते २०८०
राधिका भुसाल,प्युठान। प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–३ आहालाखोला आलु उत्पादनको राम्रो क्षेत्र मानिएको छ। प्युठान जिल्लाको आलु उत्पादनमा अग्रस्थानमा रहेको आहालाखोला आलु उत्पादनको पकेट क्षेत्र हो। त्यहा बासिन्दाहरु सबै जसो तरकारी खेतीमै रमाउने गर्दछन् । आलु खेतीको लागि पकेट क्षेत्र आहालखोलाका कृषकहरु  आलु उत्पादनलाई मुख्य रुपमा लिएका छन् ।   आहालखोलाका अगुवा कृषक दण्ड बहादुर खत्रीले आलु खेती गर्न थालेको  झन्डै ५५ वर्ष भयो तर, अहिले पनि आलु उत्पादन गर्न  उत्तिकै सक्रिय छन् । करिब ७ रोपनी जमिनमा आलु खेती गर्दै आएको उनले सुनाए ।  अहिलेको सिजनमा करिब ६० कुइन्टल खाने आलु र ७ कुइन्टल बीउ आलु उत्पादन गरेको खत्रीले बताए । वि.स. २०१८ सालमा एस.एल.सी. गरे पछि शिक्षक पेशामा तर्फ लागेको अनुभव सुनाउदै उनले भने “एमबीबीएस पढ्ने खर्च नपुगेर फर्किन परेपछि  कृषि कर्म अंगालेको हुँ । २०२५ साल देखि  शिक्षक पेशा पनि छोडेर कृषि खेतीलाई मुख्य पेशा बनाएको थिए ।” बृद्ध खत्रीले भने– “मलाई कृषि सम्बन्धि धेरै ज्ञान र अनुभव छ तर, यहाँको बजारीकरणको समस्याले गर्दा हरेक चिजहरु उत्पादन गर्ने ज्ञान भएपनि उत्पादन गरेको छैन ।” बारीको ढिककाल्नामा उमे्रर खेर गइरहेको सिस्नो टिपेर धुलो बनाइ बिक्री गरे पनि मनग्य आग्दानी हुने उनले बताउछन् । आहालखोलामा आलु राम्रै उत्पादन हुने भएपनि बजार नपाउने हुंदा चाहे अनुसार उत्पादन नगरेको खत्रीले बताए । त्यस्तै सोही निवासी कृष्ण बहादुर खत्रीले डेढ रोपनी जग्गामा व्यवसायीक कृषि गर्न थालेका छन् । निर्वाहमुखी कृषि खेती गरेका उनले ४ वर्ष यता व्यवसायीक रुपमा कृषि खेती गर्न थालेको बताउछन् । “कृषि तथा पशुपंक्षी कार्यालयबाट आहालखोलामा आलु मिसन कार्यक्रम आएपछि मैले आलुको विउ उत्पादन रोजेको थिए ।” उनले भने–“सुरुको वर्ष १२ कुइन्टल आलुको बीउ उत्पादन गरेपनि स्टोरेजसंगै बजारीकरणको समस्याले निकै निराश हुनु पारेको थियो ।” आहालखोलका बासिन्दाले आलुको बीउ तथा खानेआलु राम्रै उत्पादन गर्ने सक्ने बताउदैं बजारीकरणको मुख्य समस्याले गर्दा सिप, लगनशील र चाहना पनि उत्पादन गर्न नसकिएको बताए ।  झिमरुक गा.पा. २ निवासी निवर्तमान वडा अध्यक्ष समेत रहेका बल बहादुर महतरा अहिले  जैविक प्राङ्गारिक मल उत्पादन उद्योग सञ्चालनसंगै तरकारी व्यवसाय सुरु गरेका छन् । आहालखोलासंगै सिमाना जोडिएकोले आफ्नो जमिन पनि राम्रै उत्पादन हुने विश्वास सहित तरकारी खेती गर्न थालेको उनले बताए । “मौसमी बेमौसमी तरकारी संगै च्याउ खेतीलाई विशेष फोकस गरेको छु ।” बल बहादुरले भने– “मेरो करिव दुइ विगा पाखो जमिन छ, अहिले त्यसैबाट सुरुवात गरेको छु राम्रै उत्पादन हुन थालेपछि जग्गा भाडामा लिएर व्यवसायीक तरकारी खेती गर्ने योजना बनाएको छु ।” विषदी मुक्त उत्पादन गर्नका लागि जैवीक प्रांगारिक मल पनि उत्पादन गर्न थालेको उनले बताए । आहालखोलाका करिब २ सय ५० घरदुरले औषदमा २० कुइन्टलका दरले आलु उत्पादन गर्ने गरेको  खत्रीले बताए । झिमरुक गा.पा. ५ मा स्थित मिलिजुली कृषि बहुउदेश्यीय सहकारी संस्थाले झिमरुक गा.पा. भित्रका कृषकहरुलाई रसायनीक मल बिक्री बितरण गर्दै आएको संस्थाका अध्यक्ष जीवलाल न्यौपानेले बताए । कृषकहरुको उत्पादनलाई बढाउन आफ्नो संस्थाले कृषि सामग्री कम्पनी भैरहवाबाट डिलर प्राप्त गरि रसायनीक मल बिक्री वितरण गरि कृषकलाई सहज सुविधा दिएको बताउदै सहकारीका सदस्य कृषकहरुले कार्ययोजना पशे गरेपछि सौलियतमा ऋण प्रवाह समेत गर्ने गरेको बताए । सिंचाइ र बजारीकरणको समस्या आहालखोला  आलु उत्पादनकै लागि बनेको जमिन भएपछि सिंचाइ सुविधा राम्रो नहुंदा सोचेजस्तो आलु उत्पादन गर्न नसकेको कृषकहरुको गुनासो छ । हङसाङ खोला अथवा झिमरुक खोलाको पानी लिफ्ट गरेर आहालखोलाका बासिन्दाको जमिन भिजाउन सके आलु उत्पादन अझै बढ्ने दण्ड बहादुर खत्रीले बताए । उत्पादनको लागि सिंचाई, बजार व्यवस्थापनमा लागि  बजारीकरण र राम्रो मुल्य पाउनको लागि संचित गर्न कोल्ड स्टोर अभाव भएकाले कृषले खासै लाभ लिन नसकेको खत्रीले बताए । स्थानिय सरकारले अब यि कुरालाई मध्य नजर राख्न नसकेमा प्यूठान आलुमा आत्मनिर्भर हुन सक्ने स्थानियहरुको भनाइ छ ।  अहिले प्यूठानको केही बजार,  गुल्मीको मदाने गाउँपालिका र अर्घाखाँचीको मालारानी गाउँपालिकामा निर्यात गर्न सफल भएको कृषकले खुसी व्यक्त गरेका छन् ।  

यो पनि पढ्नुहोस्