फागुन १० गते २०८०
07:17: AM
फागुन १० गते २०८०
07:17: AM

प्यूठानमा रोपाईं सुरुः ट्याक्टर र मिनिटिलर हलो प्रयोग

जेठ २० गते २०७९
7:35 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । प्यूठानका कृषकहरुले वर्षेबाली धान रोपाई सुरु गरेका छन्। प्यूठान जिल्लाको झिमरुक फाँट र सिचाईं सुबिधा भएका ठाउँमा कृषकहरुले खेतमा धान रोपाई सुरु गरेका छन्। जिल्लाको झिमरुक फाटको बाग्दुला ,विजुवार, क्वाडी, खैरा लगायतका ठाउँमा यतिबेला कृषकहरु धान रोप्ने तयारी गरिरहेका छन । नियमित वर्षा र पानीको सुविधा भएपछि रोपाई गर्न थालेको प्यूठानमा नगरपालिका वडा नं. ८ का कृषक सुमित थापाले बताए। भर्खरै सकिएको स्थानिय चुनावको लागी जिल्ला बाहिर रहेका युवाहरु गाउँघरमा फर्केकाले अर्मपर्म गर्नपनि सहज भएको उनको भनाई छ । झिमरुक फाटमा अधिकासं गहुँ छरेको र हिउदे बाली नलगाएको खेतमा जेठको पहिलो साताबाट रोपाई सुरु भएको छ । जिल्लामा मार्सी, ताकमारे, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४,साबित्रि खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ। विगतका वर्षमा मजदुरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो। अध्ययन, रोजगारी र व्यापार ब्यवसायका लागि सहरी क्षेत्रमा गएकाहरु पालिका चुनावको लागी गाउँ फर्किएका छन्। परिवारका सबै सदस्य घरमै भएकाले खेतीबाली लगाउन सजिलो भएको प्यूठान नगरपाmिका वडा नं. ४का कृषक डिलबहादुर विकले बताए। ‘पालिका चुनावको कारणले गर्दा यसपाली खेतीबाली लगाउन खेताला खोज्न परेको छैन,’ उनले भने ‘काम गर्ने मान्छे घरमै छन्।’ पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति कृषकको आकर्षण बढेको छ। हल गोरुको विकल्पमा मिनिटिलर हलो, ट्याक्टरको प्रयोग गर्न थालेका छन्। ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाई गर्न ट्याक्टर र मिनिटिलर प्रयोग गरेका छन्। गोरुले एक दिनमा जोत्ने खेत ट्याक्टर र मिनिटिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने सारिवाङका कृषक हेमबहादुर पुनले बताए। फुर्सदिलो समय सदुपयोग गरेर कतिपय कृषकहरुले वर्षौदेखि बाँझिएको खेतबारीमा झाडी फाडेर खाद्यान्न, दलहन र फलफुल खेती सुरु गरेका छन्। सिचाई सुविधाको विस्तार, गुणस्तरीय मल, विउको उपलब्धता, कृषकमा ब्यवसायिक भावनाको विकासका साथै यान्त्रिकरणको आवश्यकता रहेको कृषकहरु बताउँछन्।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page