समय : ०१:५८ pm | सोमबार , जेठ ५ गते २०८२

देउखुरीको बगरमा तरबुजा ‘ब्राण्ड’

स्वर्गद्वारी अपडेट | वैशाख २३ गते २०८२

दशरथ घिमिरे/देउखुरी । राप्ती नदीमा आउने बाढीले दुबै किनारमा कटान गरेर सयौं विगाह जमिन बगरमा परिणत ग¥यो । खेती हुँदै आएका र बस्ती रहेका स्थान बगरमा परिणत भए । मानिसहरु विस्थापित भएर सुरक्षित स्थानको खोजीमा पुगे । अहिले त्यही नदी कटानबाट बगरमा परिणत भएको जमिन र तटबन्ध भएपछि उकासिएको जमिनमा तरबुजा खेती फस्टाएको छ ।

देउखुरीको राप्ती नदी किनारको जमिन यतिबेला तरबुजा उत्पादनको ब्राण्ड क्षेत्र बनिरहेको छ । सुख्खा खडेरी परे पनि यहाँको नदी उकास जमिनमा तरकारी र फलफूलको रुपमा तरबुजा उत्पादन हुँदै आएको छ । जसले गर्दा यहाँका किसानको आम्दानी बढाउनुका साथै देउखुरीलाई आत्मनिर्भरताको बाटोमा अघि बढाउन टेवा पुग्ने देखिएको छ । किसानहरुले नै यतिबेला तरबुजा बिक्रीका लागि सडक किनारमा पसल थाप्ने गरेका छन् । लमही नगरपालिका–४ सेम्रहवा सडक किनारमा दैनिक तरबुजाको बजार लाग्दै आएको छ । राप्ती नदीको बगरमा फलेको तरबुजा बिक्री गर्न किसानले स्वयं यहाँ बजार लगाउँदै आएका हुन् । ‘जग्गा जमिन बगरमा छ । त्यही बगरमा सिजनको फल तरबुजा खेती गरेका छौं’– किसान छुकान चौधरीले भन्नुभयो– ‘तरबुजा किन्नकै लागि धेरै मानिस यहाँ आउने गर्नुहुन्छ । बजारमा भिडभाड नै हुन्छ ।’

राप्ती नदीलाई धेरैले अभिशापको रुपमा लिए । किनकि यो नदीले धेरैलाई घरबासबिहीन बनाएको थियो । उठिवास लगाएको थियो तर अहिले यही नदी किनारको बगरको जमिनलाई किसानले आम्दानीको रुपमा उपयोग गर्न थालेका छन् । खेतीप्रणालीमा भइरहेको यो रुपान्तरणले उद्यमशीलतामा समेत टेवा पु¥याएको छ । जनताको तटबन्ध कार्यक्रम लागु भएपछि नदीले कटान गरेको धेरै जमिन सुरक्षित भएको छ । तटबन्धले नदी हिडेको जमिन उकासिएको छ । जहाँ किसानले तरकारी खेती थालेका छन । गढवाको कान्छीगाउँ, लमहीको सेम्रहवा, बलरामपुरमा तरबुजाका साथै तरकारी खेती हुँदै आएको छ । देउखुरीका किसानले वार्षिक चार करोडको हाराहारीमा तरबुजाको मात्रै कारोबार गर्दै आएको अनुमान गरिन्छ ।

उद्यमशीलको फेरि उदय

उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले २०६६ सालमा बगर खेतीलाई व्यावसायिक रुप दिन सफल भएको थियो । किसानलाई संगठित गरेर बगर खेतीमा तरबुजाको व्यावसायिक खेतीमा प्रवद्र्धन गरेको सहकारी संस्थाले अहिले जग्गा भाडामा लिएर तरबुजा खेती गरिरहेको छ । ६२ विगाह जग्गा भाडामा लिएर चक्लाबन्दी गरिएको छ । जहाँ २५ विगाहमा केरा खेती गरिएको छ भने १५ विगाहमा तरबुजा खेती गरिएको सहकारी संस्थाका सचिव विश्व अधिकारीले बताउनुभयो । उहाँका अनुसार १५ विगाह जमिनमा केरा रोप्ने तयारी गरिएको छ ।

परम्परागतरुपमा तरबुजा खेती हुँदै आएकोमा अहिले मल्चिङ प्रविधिबाट तरबुजाको खेती गरिएको छ । जसले गर्दा उत्पादन र उत्पादकत्वमा बृद्धि भएको संस्थाले जनाएको छ । यसपालि छ थरी जातका तरबुजा खेती गरिएको छ । बाहिर पूरै पहेलो र भित्र रातो भएको, बाहिर ग्रे कलर भएको र भित्र पहेंलो भएको नयाँ प्रजातिको तरबुजा खेती गरिएको हो । ‘यो सफल छ । स्वादिलो छ । उच्च क्वालिटीको उत्पादन छ’– सचिव अधिकारीले भन्नुभयो– ‘हामीले खेती गरेको जमिन नदी उकास, गौचरणमा परिणत भएको, एक प्रकारले भन्ने हो भने खेर गएको जमिन थियो । भाडामा लिएर चक्लाबन्दी गरेर कृषि सम्बन्धी काममा उपयोग गरेका छौं ।’

उद्यमशीलले चक्लाबन्दी गरेको जमिनमा पाँचजना युवा किसानसमेत खेतीमा जोडिएका छन् । यसपालि देउखुरीमा तीनसय विगाह जमिनमा तरबुजा खेती गरिएको अनुमान छ । यसपालि किसानले हिउँदे वर्षा नहुँदा सिंचाईको अभाव भोग्नु पर्दा उत्पादनमा जटिलता भोग्नुपरेको थियो तर पनि मेहनत गरेर तरबुजा फलाउन सफल भएका छन् । तरबुजा माघदेखि रोपार्इं शुरु हुन्छ । चैत तेस्रो हप्ताबाट उत्पादन बजारमा पुग्न थाल्छ । जेठ महिनाभित्र उत्पादन भएको तरबुजा खपत हुने गरेको छ ।

यो पनि पढ्नुहोस्