अर्घाखाँची–सन्धिखर्कको टुडिखेलमा यतिबेला दर्शकको घुइँचो लागेको छ।बजारमा बेग्लै चहलपहल देखिन्छ।गाउँगाउँबाट दर्शकहरू सन्धिखर्कतर्फ आकर्षित भएका छन्।
अहिले सन्धिखर्कमा एक विशेष उत्सवको माहोल छ, जसलाई मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अझ रोमाञ्चक बनाएको छ। खचाखच भरिएको टुडिखेलले खेलप्रेमीहरूलाई मात्र नभई व्यवसायीहरूलाई पनि उत्साहित बनाएको छ। प्रतियोगिताले स्थानीय व्यापार प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पारेको छ उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्रका अनुसार, यसअघि बजार केही सुस्त थियो, तर प्रतियोगिताका कारण चहलपहल बढेको छ। यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गरिँदा व्यापार व्यवसायमा उत्साह थपिएको छ।
यस्तै यातायात क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको लंका यातायात प्रालीका अध्यक्ष कृष्णबहादुर भुसालले बताए।उनका अनुसार गाउँबाट शहर आउने र शहरबाट गाउँ फिर्ता हुने यात्रुले गर्दा व्यवसायमा समेत बृद्धि भएको छ। खेल मैदान वरपर विभिन्न व्यापारिक गतिविधि संचालनमा आएका छन्।स्थानीय उद्यमीहरूले आफ्ना उत्पादन विक्री–वितरण गर्ने अवसर पाएका छन्। प्रतियोगिताले खेल क्षेत्रलाई मात्र नभई अन्य क्षेत्रहरूलाई पनि प्रत्यक्ष रूपमा लाभ पु¥याएको मुख्यमन्त्रीका स्वकीय अधिकृत प्रदीप नेपाली बताए।उनका अनुसार, यो प्रतियोगिताले खेलाडी, स्थानीय उद्यमी, व्यवसायी तथा निजी क्षेत्रका व्यक्तिहरूमा नयाँ ऊर्जा भरेको छ।
चैत ५ गतेदेखि सुरु भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा ११ जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ । द्वितीय हुने टोलीले ६५ हजार, तृतीय हुनेले ३५ हजार, भने सान्त्वना पुरस्कारस्वरूप १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, उत्कृष्ट ६ विधाका खेलाडीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताले स्थानीय तहमा खेलप्रतिको जागरूकता बढाउनुका साथै खेलाडीहरूलाई नयाँ अवसर प्रदान गरेको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले बताउनु भयो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गरेका थिए।
