समय : १२:५२ pm | आइतबार , श्रावण ३ गते २०८३

असारमा प्युठानमा २३ मुद्दा दर्ता, ६ वटा भवितव्य ज्यानका घटना

प्राकृतिक स्रोत दोहन नियन्त्रणका क्रममा रु. २५ हजार जरिवाना असुल गरिएको छ।

स्वर्गद्वारी अपडेट | श्रावण ३ गते २०८३

प्युठान।जिल्ला प्रहरी कार्यालय प्युठानले असार महिनामा जिल्लाभर २३ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको जनाएको छ।प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सबैभन्दा बढी भवितव्य ज्यान सम्बन्धी ६ वटा मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार असार महिनामा झुण्डिएर आत्महत्या ५, फुटकर ज्यान २, ज्यान मार्ने उद्योग २, सवारी भवितव्य ज्यान २, अभद्र व्यवहार १, बैंकिङ कसुर १, चोरी १, लागुऔषध सेवन १, जुवा–तास सम्बन्धी कसुर १ तथा आगो लगाई आत्महत्या १ मुद्दा दर्ता भएका छन्।चालु मुद्दाका प्रतिवादीको संख्या २० रहेको छ।

सवारी दुर्घटनातर्फ जिल्लामा ४ वटा दुर्घटना भएका छन्।दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। दुर्घटनामा ४ वटा सवारीसाधन संलग्न रहेका थिए।तीव्र गति र चालकको असावधानी दुर्घटनाको मुख्य कारण रहेको प्रहरीको निष्कर्ष छ।ट्राफिक कारबाहीबाट सय ६६ जनामाथि कारबाही गरी रु. ३ लाख ५५ हजार ५ सय राजस्व संकलन गरिएको प्रहरीले जानकारी दिएको छ।

अवैध हातहतियार नियन्त्रणतर्फ १६ थान भरुवा बन्दुक बरामद गरिएको छ।यस्तै, अवैध घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत ४० लिटर घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्राकृतिक स्रोत दोहन नियन्त्रणका क्रममा रु. २५ हजार जरिवाना असुल गरिएको छ। अवैध वन पैदावार ओसारपसार नियन्त्रणका क्रममा १५० क्युबिक फिट सल्लाको काठ बरामद गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीको विवरणमा उल्लेख छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत असार महिनाभर २ सय ४१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।साथै, नौबहिनी गाउँपालिका–६ स्थित जनज्योति माध्यमिक विद्यालयमा आयोजित नागरिक–प्रहरी संवाद कार्यक्रममा १ सय ५० जना सहभागी भएका थिए। कार्यक्रममा प्रहरी बिट स्थापना, वैदेशिक रोजगार ठगी नियन्त्रण तथा लागुऔषध दुर्व्यसन नियन्त्रणका विषयमा सचेतना प्रदान गरिएको थियो।

प्रहरीका अनुसार असार महिनामा जिल्लामा बन्द, हड्ताल, आन्दोलन तथा चक्काजामका घटना नभएको उल्लेख गरिएको छ।नियमित प्रहरी परिचालनअन्तर्गत १,८८७ वटा ग्रामीण गस्ती, २८६ वटा चेकजाँच, ६२० पटक पिकेट ड्युटी, १६० पटक एसआरपी तथा ३ वटा एलआरपी परिचालन गरिएको जनाएको छ।

यो पनि पढ्नुहोस्