गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु


स्वर्गद्धारी अपडेट,प्यूठान । गुडिरहेको बसको ढोकाबाट खसेर शनिबार बिहान बागलुङको गलकोटमा एक यात्रुको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर–११ रिघाफेदीमा बसबाट खसेका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार बिहान पौने ६ बजेतिर बा ३ ख ९१८० नम्बरको बसबाट बस्नेत अचानक सडकमा खसेका थिए । बस काठमाडौंदेखि रुकुम जाँदै गरेको थियो ।बसबाट खसेपछि गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि गलकोटको हटियास्थित स्थानीय क्लिनिक लगिएको थियो । उपचारका क्रममा बिहान साढे ६ बजे उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनापछि प्रहरीले बसचालक लालबहादुर बानियालाई नियन्त्रणमा लिएको छ । घटनाबारे छानबिन गर्न चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।