प्युठान।सरुमारानी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
सरुमारानी गाउँपालिकाले आव २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।गाउँपालिकाको आयोजना तथा स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको संयोजनमा सरुमारानी गाउँपालिकाको बहुउदेश्यीय सभाहलमा सम्पन्न भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सेवाग्राही, सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरु,बैंक तथा वित्तीय संस्थाको प्रतिनिधिहरु,पत्रकार र विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिती भएको थियो।
कार्यक्रममा नेकपा माओवादी केन्द्र सरुमारानी गाउँकमिटिका अध्यक्ष गुप्त बहादुर रानाले उपलब्धि नभएको ठाउँमा ठुलो बजेट खर्च गरेको बताएका थिए।खानेपानी तथा लिफ्ट सिचाईमा पालिकाको ध्यान गएको छैन।उनले भने-‘पालिकाले अनुदानमा समेत राजनीतिकरण गरेको छ।’कृषि औजारमा पालिकाले एक कृषकलाई ७/८ पटक सम्म कृषि औजार वितरण गरेको उनको भनाई छ।
त्यस्तै कृष्ण बहादुर रानाले वडा ३ मा निर्माण हुन लागेको अस्पतालको डिपीर तयार गरेको तर अझै काम सुचारु नभएको बताएका थिए।हंसपुर खानेपानी योजनाको काम सम्पन्न गर्नमा किन ढिलाई गरेको समेत उनको भनाई थियो।टिकाराम पल्ली मगरले दर्भानमा सार्वजनिक शौचालय कहिले निर्माण होला? दर्भान बजारमा सडक बत्ती कहिले जडान गर्ने ?पालिकामा भएका बेतिथिका बिषयमा उठेका सवालहरु तुरुन्तै सुधार गर्नुपर्ने समेत उनको भनाई थियो।
सेवा प्रभावकारिताको सम्बन्धमा ५ जना नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित हाकाहाकी बहस गरिएको थियो।
नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा सरुमारानी गाउँपालिकाको अध्यक्ष झग बहादुर बिश्वकर्मा,उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्का र शाखागत प्रमुखहरु लगायतकाले गरेका थिए।
सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै सरुमारानी गाउँपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्ने, खानेपानी एवं लिफ्ट सिचाई योजनामा रोकिएका कामको प्रक्रिया अघि बढाउने, मोटर बाटोको स्तरउन्नोती गर्ने लगायतका बिषयमा प्रतिबद्धता व्यक्त गरेका थिए।