प्युठान। जिल्लाको नौबहिनी गाउँपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ।नौबहिनी गाउँपालिकामा बसोबास गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा योगदान दिएका खेलाडीहरुलाई सम्मान गरेको हो ।
हालै सम्पन्न नेपाल प्रिमियर लिग-एनपिएल बिजेता टिमका राष्ट्रिय कृकेट खेलाडी नौबहिनी गाउँपालिका-५ का तुल बहादुर थापा, नौबहिनी गाउँपालिका-१, निवासी अन्तराष्ट्रिय अल्ट्रा धावक दामोदर बुढा मगर, हुमि बुढा मगर अन्तराष्ट्रिय अल्ट्रा धावक, गुमान घर्ती मगर अन्तरास्ट्रिय/प्रोफेसनल थाइ बक्सिङ खेलाडी, नौबहिनी गाउँपालिका-७, निवासी अन्तर्राष्ट्रिय सितोरियो कराते खेलाडी नमराज राना मगर र यु-१६ राष्ट्रिय कृकेट खेलाडी करण घर्ती मगर सम्मानित भएका हुन।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले यस गाउँपालिकामा रहेका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्म योगदान दिएको हुँदा खेलाडी सम्मान गरिएको बताएका थिए।
सम्मानित हुने ७ जना यी सम्पुर्ण विधाका खेलाडीहरुलाई नगद रु. २० हजार, सम्मान पत्र, मायाको चिनो, पालिकाको दायरी सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
गाउँपालिका उपाध्यक्ष विस्ना थापा, नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी, ४ नं. वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता भिम बहादुर घर्ती मगर लगायतले गाउँपालिकाले गरेको यस्ता कार्यक्रमहरु प्रसंशनीय भएको भन्दै सम्मानित खेलाडीहरुलाई शुभकामना दिएका थिए।
सम्पुर्ण खेलाडीहरुको तर्फबाट आफ्नो भनाइ राख्दै अन्तर्राष्ट्रिय अल्ट्रा धावक दामोदर बुढा मगरले खेल जीवन निकै कष्टकर रहेको बताउदै पालिकाले गरेको सम्मानले हौसला बढेको भन्दै धन्यवाद समेत बताएका थिए।
नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना तथा प्रशासन प्रमुख अरविन्द्र ब्रह्माले स्वागत मन्तव्य राखेका थिए।