समय : ०१:३० pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा करिव ५ करोडको चिस्यान केन्द्र अलपत्र

स्वर्गद्वारी अपडेट | वैशाख ३० गते २०८१

प्युठान।जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसमी बजारसम्म पु¥याउने उद्देश्यले चिस्यान केन्द्र निर्माण भएका छन्।प्रदेश सरकारको सहयोगमा निर्माण भएका प्युठानका तिन चिस्यान केन्द्र हाल भने अलपत्र  अवस्थामा रहेका छन्।

झिमरुक गाउँपालिका-४ मच्छी स्थित गत आर्थिक वर्ष २०७८/०७९ मा  निर्माणकार्य सुरु गरि आ.व ०८० भदौ मसान्तमा सम्झौता अनुसार काम सम्पन्न भईसकेपनि हालसम्म संचालनमा आउन सकिरहेको छैन।एक आर्थिक वर्ष बितिसक्दा समेत चिस्यान केन्द्र संचालनमा नआउनुको साथै निर्माण व्यवसायीले पाउनु पर्ने रकम भुक्तानी समेत पाएका छैनन्।सम्झौता अनुसार काम सम्पन्न गरेको एक वर्ष बितिसक्दा समेत औफुले पाउने पर्ने रकम झिमरुक गाउँपालिकाबाट भुक्तानी नआएको निर्माण व्यवसायी भरत केसीले स्वर्गद्वारी अपडेटलाई बताए।करिव २ करोड ३९ लाख ४६ हजार लागतमा निर्माण भएको चिस्यान केन्द्र यतिबेला अलपत्र परेको छ।

त्यस्तै यता माण्डवी गाउँपालिका-३ देबिस्थानमा निर्माण भएको चिस्यान केन्द्र पनि  लामो समय देखि बन्द अवस्थामा रहेको छ।गत आर्थिक वर्ष २०७६/०७७ मा निर्माण सुरु भएको चिस्यान केन्द्र १ करोड १२ लाख ५८ हजारको लागतमा निर्माण भएको हो।सुरुवाती चरणमै चिस्यान केन्द्रमा समस्या आएपछी हाल सम्म बन्द अवस्थामा रहेको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले बताए।

“घर नजिकै चिस्यान केन्द्र बन्छ भन्दा जति खुसी लागेको थियो, केन्द्र अलपत्र अवस्थामा पुग्दा त्यो भन्दा बढी दुःख लागेको माण्डवी गाउँपालिकाका -१ तिरामका कृषक ऋषि बलदेव अधिकारीले बताए।

प्युठानकै पहिलो प्युठान नगरपालिका-४ स्थित बिजुवारमा निर्माण भएको प्युठान नगरपालिकाको चिस्यान केन्द्र यतिबेला बन्द अवस्थामा रहेको छ।गत आ.व २०७५/०७६ मा निर्माणकार्य सुरु भएको चिस्यान केन्द्र १ करोड १५ लाखको लागतमा सम्पन्न भएको हो।करिव २ सिजन जति आलु स्टोरेज गरेको त्यसपछि चिस्यान केन्द्रमा केहि समस्या देखिएपछी हाल सम्म बन्द अवस्थामा रहेको छ।बन्द अवस्थाको चिस्यान केन्द्र हाल सम्म संचालनमा आउन सकेको छैन।              

प्युठानमा निर्माण भएका चिस्यान केन्द्रहरु संचालन नहुँदा किसानको कतिपय उत्पादन भएका कृषि जन्यबस्तुहरु त्यतिकै नाश हुने गरेको छ। प्युठानका कृषकहरु यतिबेला निरास बनेका छन्। प्युठान जिल्लामा उत्पादन हुने आलु, कागती, सुन्तला, विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र यतिबेला अलपत्र अवस्थामा रहेका छन्। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page