समय : ०५:४१ am | बिहिबार , मंसिर २६ गते २०८१

भित्रिकोट महोत्सवमा कृषि उपजलाई निःशुल्क स्टल – खान

स्वर्गद्वारी अपडेट | मंसिर २१ गते २०८१

प्यूठानको प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजार नजिकै रहेको टिकुरी बसपार्क छेउमा प्रथम भित्रिकोट प्यूठान महोत्सव २०८१ को आयोजना हुँदैछ। प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रको मुख्य आयोजनामा यहि पुस ५ देखि १७ गतेसम्म मेला आयोजना हुन लागेको छ। आयोजकले मेलाबारे आईतबार बाग्दुलामा जिल्लाका क्रियाशील पत्रकारहरुसंग भेटघाट गरी मेलाबारे जानकारी पनि गराएको छ। मेलाको तयारी के कस्तो हुँदैछ त! यसबारे मेलाका संयोजक प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानसंग स्वर्गद्वारी अपडेटले गरेको कुराकानी प्रस्तुत छ।

१.मेलाको तयारी के कस्तो छ ?

हामीले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय प्यूठानबाट मेला सञ्चालनको अनुमति प्राप्त गरेसंगै हामीले सम्पादन गर्नुपर्ने अन्य गतिविधिलाई तिब्रता दिँदै आएका छौं।

२.यसपटक महोत्सव गर्ने स्थान किन परिवर्तन भयो?

प्यूठान उद्योग वाणिज्य संघले सञ्चालन गरेका सबै मेलाहरु गणतान्त्रिक खेल मैदान विजुवारमा हुँदै आएका थिए। यो पटक प्यूठान नगरपालिकाले खेल मैदानमा मेला महोत्सव आयोजना गर्न नदिने निर्णय लिएकोले त्यसको विकल्पको रूपमा प्यूठान नगरपालिका - ७ टिकुरी बसपार्क नजिकै मेला लगाउँदैछौं। स्थायी तथा दिगो रूपमा यस प्यूठान उपत्यकामा मेला, महोत्सव आमसभा लगायतका ठूला कार्यक्रम गर्न सकिने प्रदर्शनी स्थलकै रूपमा विकास गर्नको लागि हामीले प्रस्तावित प्रदर्शनी स्थलनै नामाकरण गरेर अघि बढेका छौं।प्यूठान उद्योग वाणिज्य संघले प्रदर्शनी स्थलको रूपमा विकास गर्न आवश्यक प्रक्रियाको पनि थालनी गरेको छ।

३.मेलाको लगाउनुको मुख्य उद्देश्य के हो?

मेला मार्फत स्थानीय कला संस्कृतिको संरक्षण एवं प्रचारप्रसार गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार प्रसार, स्थानीय उत्पादनको बजारीकरण, स्थानीय कला प्रतिभाको उजागर गर्ने, उत्पादनकर्ता र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने लक्ष्य सहित यो मेलाको आयोजना गरेका छौं। मेलाबाट बच्ने रकमले बजार क्षेत्रको सचिवालय भवन बनाउने मुख्य उद्देश्य लिएका छौं।

४.जिल्लाको पैसा बाहिर गयो भन्ने जनगुनासो सुनिँदै आएको छ, महोत्सवमा स्थानीय व्यवसायीहरु तथा किसानलाई के फाईदा छ त?

हामीले प्यूठान उद्योग वाणिज्य संघका सदस्य रहेका हाम्रा व्यवसायीहरुलाई स्टलको शुल्कमा ५० प्रतिशतसम्म छुट दिने भएका छौं। हाम्रै व्यापारी तथा व्यवसायीहरुले मेहनत गरेर लगानी गरेरै व्यापार गर्नुपर्यो। मेलामा दैनिक उपभोग्य वस्तुको बिक्री वितरण लत्ता कपडा आदिको कारोबारमा उहाँहरुलाई सुविधा पुग्ने विश्वास लिएका छौं। हाम्रा किसानहरुको कृषि उपज बिक्री वितरण गर्नको लागि हामीले निःशुल्क रूपमा स्टल दिने भनेका छौं। प्यूठानका ९ वटै स्थानीय तहमा रहने हाम्रा अगुवा किसानहरू, अलि ठूलो परिमाणमा उत्पादन गर्ने किसान दाजुभाई तथा दिदीबहिनीहरुलाई आफ्ना उत्पादनको बजारीकरणका लागि यो महोत्सवको भरपूर्ण उपयोग गर्नुहोस भन्न चाहन्छौं।

५.अन्य मेला महोत्सव भन्दा यसपालीको महोत्सवमा फरक के छ?

 यस पटकको महोत्सवमा हुने आर्थिक चलायमानबाट जिल्लामै पैसा खपत गराउने तर्फ हाम्रो ध्यान केन्द्रित छ। जिल्लामै पैसा अड्याउन कसरी सकिन्छ त ? भन्नेबारे गम्भिर छौं , यसका लागि जिल्लाका सबै स्थानीय तहले आफ्ना पालिकामा रहेका किसानहरुको उत्पादनलाई मेलासम्म पुर्याउन ढुवानीमा अनुदान सहयोग गर्न जरुरी छ। यसको व्यापक प्रचार प्रसार हुन जरुरी छ। स्थानीय कृषि उपजको बजारीकरणमा विशेष ध्यान दिएका छौं यसका सरोकारवाला पक्षहरु, हामी सबैको साझा प्रयास हुन जरुरी छ। स्थानीय प्रतिभाको प्रस्फुटनका लागि प्यूठान डान्स आइडलको दोस्रो सिजन पनि सुरु गर्ने छौं। मेलामा एसियाकै उत्कृष्ट बाल उद्यान रहनेछ। मञ्चमा डिजिटल स्क्रिनको व्यवस्था गरिनेछ। प्यूठानका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि भिडियो डकुमेन्ट्रीको प्रदर्शन गर्नेछौं। महोत्सव स्थलबाट भित्रिकोट दरबार क्षेत्र घुम्न पुग्ने माहोल सिर्जना गर्नेछौं।

६.महोत्सवमा कति स्टल हुनेछन्, आर्थिक कारोबार कति होला, कतिले मेलाको अवलोकन गर्लान् त?

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा २ सय ५० को हाराहारीमा स्टल रहनेछन्। दैनिक उपभोग्य वस्तुको बिक्री वितरण, लत्ताकपडा, भाँडा वर्तन, यस क्षेत्रमा उत्पादित कृषि उपज, घरेलु हस्तकला तथा लघु उद्यमका उत्पादनहरूको प्रदर्शनी तथा विक्री, निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर चलाउने पनि सोंच गरेका छौं। करिब २ करोड बराबरको आर्थिक कारोबार हुने आँकलन गरेका छौं। ८० हजार देखि करिब १ लाखले मेलाको अवलोकन गर्नेछन्। जेष्ठ नागरिकलाई, असक्तलाई निःशुल्क प्रवेश, टिकेटको दर पनि अन्यत्र १ सय छ हामीले ८० रुपैयाँ तोकेको छौं विद्यार्थीलाई ५० रुपैयाँ प्रवेश शुल्क लिनेछौं।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्