काठमाण्डौ – मनसुनजन्य विपदबाट प्रभावित कोशी प्रदेशमा आज राति ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
मनसुन भित्रिएदेखि कोशी प्रदेशका पहाडी जिल्लामा लगातारजसो पानी परिरहेको छ । आज पनि बिहान र दिउँसो हल्का तर राति भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
बाढी, पहिरो प्रभावित ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत पहाडी जिल्लामा राति ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन उहाँको आग्रह छ ।ठूलो पानी पर्ने सम्भावना रहेकाले यी जिल्लामा फेरि पनि बाढी पहिरोको खतरा रहेको मौसमविद्ले बताएका छन् ।यस्तै, आज राति नै गण्डकी प्रदेश र मधेस प्रदेशका पूर्वी क्षेत्रमा पनि ठूलो वर्षाको अनुमान गरिको छ ।
खोला, नदी आसपास र भिरालो जमिनमा बसोबास गर्नेलाई विशेष सचेत हुन मौसमविद्को आग्रह छ । अन्य प्रदेशमा भने हल्का पानी पर्ने अनुमान गरिएको छ ।