प्युठान।ऐरावती गाउँपालिकाले बनाएको एमबीबीएस छात्रवृत्ति वितरण कार्यविधि–२०८१ को धज्जी उडाउदै छात्रवृत्ति वितरण गरेको छ।आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा एक छात्र र एक छात्रालाई एमबीबीएस छात्रवृत्ति दिई अध्ययनपछि तीन वर्ष गाउँपालिकामै सेवा गर्नुपर्ने व्यवस्था गरिएको थियो।
कार्यविधिअनुसार गाउँपालिकाबाट छात्रवृत्ति प्राप्त गरी नेपालका विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत वा एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीलाई मात्र कार्यक्रममा समेट्ने व्यवस्था गरिएको छ।
तर, कार्यविधिमा आफ्नै पहलमा पहिलेदेखि एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कुनै स्पष्ट व्यवस्था नभएको अवस्थामा गाउँपालिकाले काठमाडौं विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थानमा तेस्रो वर्ष अध्ययनरत रमेश विक(नाम परिवर्तन) लाई एमबीबीएस छात्रवृत्ति वितरण समितिको सिफारिस का आधारमा गोश्वारा भौचर नं. ३१७/०८२/३/१८ मार्फत १३ लाख रुपैयाँ छात्रवृत्ति उपलब्ध गराएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले कार्यविधिअनुसार छात्रवृत्ति कार्यक्रममा सहभागी भई एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गर्ने नयाँ विद्यार्थीलाई अवसर दिनुपर्नेमा आफ्नै पहलमा तेस्रो वर्ष अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु उपयुक्त नदेखिएको स्पष्ट टिप्पणी गरेको छ।
यति मात्र होइन, गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा चिकित्सकको दरबन्दी नै नभएको अवस्थामा भविष्यमा थप आर्थिक दायित्व सिर्जना हुने गरी यस्तो नीति तथा कार्यक्रम ल्याउनु पनि उपयुक्त नभएको प्रतिवेदनले औंल्याएको छ।
दुर्गम क्षेत्रमा चिकित्सक उपलब्ध गराउन कठिन हुने, बाहिरबाट आएका चिकित्सक टिकाउ नहुने तथा स्थानीय नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा नपाउने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई चिकित्सक उत्पादन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ।








