समय : ०६:३४ pm | सोमबार , भाद्र १ गते २०८३

झिमरुकको सडकमा लापरबाही,  निर्माणाधीन वालमै माटोको लेदो

ठेकेदारको लापरबाही मात्र होइन,पालिकाले निर्माणको अनुगमन र गुणस्तर परीक्षणमाथि प्रश्न उठेको छ।

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०८३

प्यूठान। वर्षौंदेखि बजेट अभावका कारण अलपत्र परेको झिमरुक गाउँपालिका–३ स्थित बतासेडाँडा–मच्छी सडकखण्ड निर्माणका क्रममा ठेकेदारको चरम लापरबाही भेटिएको छ।सडक निर्माणअन्तर्गत बनिरहेको पलाम वालमा लेदो र माटो भेटिएको छ।

संघीय समपूरक बजेटमार्फत झिमरुक गाउँपालिकाका लागि ९ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको थियो।सोही बजेटबाट सडकको कटिङ, चौडा पार्ने, पलाम वाल तथा जालीलगायतका काम गर्न हरियाली निर्माण सेवा, प्यूठानले ठेक्का सम्झौता गरेको हो।

निर्माण कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ७१ लाख रुपैयाँ बराबरको काम गर्नुपर्ने कम्पनीका साइट इन्चार्ज बिराजन गिरीले बताए।तर निर्माणाधीन पलाम वालको संरचनाभित्रै माटोको लेदो र ढुंगा प्रयोग भएको भेटिएपछि निर्माणको गुणस्तरमाथि चरम लापरवाही देखिएको छ।

क्रसरको सामग्री रोकिएका कारण खोलाबाट ल्याइएको सामग्री प्रयोग गर्दा यस्तो देखिएको निर्माण इन्चार्ज गिरीले बताए।तर सडकको महत्वपूर्ण संरचना मानिने वाल निर्माणमा मापदण्डविपरीत सामग्री प्रयोग भएको हुँदा ठेकेदारको लापरबाही मात्र होइन,पालिकाले निर्माणको अनुगमन र गुणस्तर परीक्षणमाथि प्रश्न उठेको छ।

निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको जानकारी पाएपछि झिमरुक गाउँपालिकाको पूर्वाधार शाखाले तत्काल काम रोक्न निर्देशन दिएको छ।शाखा प्रमुख इन्जिनियर अशोक जिसीले निर्माण कम्पनीलाई तत्कालका लागि काम रोक्न आदेश दिएको बताए।

स्थानीय पूर्वाधारमा करोडौँ रुपैयाँ खर्च भइरहेका बेला निर्माण कम्पनीले 'क्रसरको माल रोकिएको' भन्दै खोलाको सामग्री प्रयोग गर्नुले ठेक्का सम्झौता र प्राविधिक मापदण्डको पालना कति भइरहेको छ भन्ने प्रश्न उब्जाएको छ।

यस बिषयमा थप जानकारीको लागि झिमरुक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाललाई सम्पर्क गर्न खोज्दा उहाँको मोवाइलमा घन्टी बज्यो तर उठेन।

वर्षौंदेखि सडकको समस्या झेल्दै आएका स्थानीयले गुणस्तरीय र टिकाउ सडकको अपेक्षा गरेका छन्।तर निर्माणकै क्रममा संरचनाभित्र माटो र लेदो भेटिनुले सडक बनेपछि कति समय टिक्ला भन्ने चिन्ता थपिएको स्थानीयको भनाई छ।

यो पनि पढ्नुहोस्