गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त
स्वर्गद्वारी अपडेट प्युठान । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ ।
बहुमत सांसदको हस्ताक्षर पेस गरेको आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३० जना सांसद चाहिनेमा खगराज अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३३ जना सांसदको समर्थन रहेको छ ।
अधिकारी कास्कीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएको हो ।
उहाँ नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत हुनुहुन्छ ।
गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख प्राप्त गरेको छ । २७ सिट जितेको नेपाली कांग्रेस अब प्रतिपक्षमा रहनेछ ।