समय : ०२:५० am | सोमबार , कार्तिक ११ गते २०८१

मुख्यमन्त्री महराद्धारा जिल्ला अस्पतालको भवन शिलान्यास

स्वर्गद्वारी अपडेट | असार १३ गते २०८१

messenger sharing button

प्रकाश बैद्य
प्यूठान ,
जिल्ला अस्पताल प्यूठानको भवन शिलान्यास गरिएको छ ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज एक कार्यक्रमका बीच अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री महराले भवन निर्माण पछि अस्पतालले प्रवाह गर्ने स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे । जिल्ला अस्पताल प्यूठानमा सेवा लिन प्यूठानका मात्र नभएर आफ्नो जिल्ला रोल्पाका जनता पनि सेवा लिन आउने गरेको भन्दै मुख्य मन्त्री महराले प्यूठान अस्पतालको सेवा तथा गुणस्तर बृद्धिले रोल्पा लगायतका प्यूठानका छिमेकी जिल्लाका जनतालाई उपचारका लागि बुटवल काठमाण्डौ जस्ता सुविधा सम्पन्न ठाउँमा जान नपर्ने बताए ।

स्वास्थ्य सेवामा प्रगति गर्न सके जनताको स्वास्थ्य अवस्थामा सुधार भई समाज परिवर्तन हुने भन्दै मुख्यमन्त्री महराले स्वास्थ्य क्षेत्र सवैको साझा सम्पत्ति भएकाले यसको विकास तथा विस्तारमा सवै पक्ष लाग्नु पर्नेमा जोड दिए । स्वास्थ्यका हरेक जनचेतनामुलक गतिविधि सञ्चालन गरी जनतालाई अस्पताल जानै नपर्ने गराउनु पर्नेमा पनि उनले सचेत गराए ।

नेपाल सरकारको बिशेष अनुदान मार्फत शहरी विकास तथा भवन कार्यालय दाङको २१ करोड ३० लाख बढिको लागतमा ग्राण्ड डिजाइन कन्स्ट्रक्सन प्रा.ली नेपालगञ्जले जिल्ला अस्पताल प्यूठानको भवन निर्माण कार्य अगाडि बढाउँदै छ ।
अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले निक साइमन्स संस्थाको सहयोगमा प्रदेशभित्रका पहाडी जिल्लाहरु मध्येमा प्यूठान अस्पतालले राम्रो सेवा प्रदान गरिरहेको बताए । समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै मन्त्री पुनले अस्पतालको जनशक्ति व्यवस्थापन तथा आवासको व्यवस्थाको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

शिलान्यास कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य निमा गिरी, धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्यूठान नगरपालिकाका प्रमुख, नौवहिनी र माण्डवी गाउँपालिका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु ,सञ्चारकर्मी लगायत अस्पतालसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

१५ शैयाको समयमा निर्माण भएको अस्पतालको पूर्वाधारले हाल ५० शैयामा सेवा दिइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र पौडेललले बताए । जनताको सेवाका लागि अस्पतालमा विशेषज्ञ सेवा,प्याथोलोजि सेवा ,अप्रेशन,इमर्जेन्सी,दैनिक ओ.पि.डि लगायतका सेवाहरु व्यवस्थित रुपले सञ्चालन गरिएको तथा थप काउन्टर बिस्तार गरी सेवा प्रदान गरिएको समेत डा. पौडेलले बताए । कार्यक्रमको सञ्चालन अस्पतालका डा अमिर काफ्लेले गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्